कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमण, ९ जनाको मृत्यु

कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा इरानका सर्वोच्च नेताको हत्याको विरोधमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ९ जनाको मृत्यु भएको छ।

इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको विरोधमा आइतबार पाकिस्तानको कराँचीमा भएको प्रदर्शन। (तस्वीर: एपी/मुहम्मद फारुक)

पाकिस्तानको बन्दरगाह सहर कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा आइतबार सयौँ प्रदर्शनकारीले आक्रमण गरेपछि प्रहरी र अर्धसैनिक बलसँग भएको हिंसात्मक झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। सो घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन्।

समाचार संस्था एपीका अनुसार संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हत्या गरेको केही घण्टापछि यो हिंसा भड्किएको हो। कराँचीको एक अस्पतालका प्रहरी र अधिकारीहरूका अनुसार झडपमा कम्तीमा २५ जना घाइते भएका छन् र तीमध्ये केहीको अवस्था गम्भीर छ।

सहरको मुख्य सरकारी अस्पतालकी प्रहरी सर्जन सुमैया सैयद तारिकले सुरुमा ६ जनाको शव र धेरै घाइतेलाई अस्पताल ल्याइएको पुष्टि गरिन्। उपचारका क्रममा थप तीन जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या नौ पुगेको उनले बताइन्।

वरिष्ठ प्रहरी अधिकारी इरफान बलोचका अनुसार प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको परिधिमा छोटो समयका लागि आक्रमण गरेका थिए, तर पछि उनीहरूलाई तितरबितर पारिएको थियो। वाणिज्य दूतावासको भवनमा आगो लगाइएको भन्ने रिपोर्ट आधारहीन भएको उनले बताए। यद्यपि, सुरक्षा बल पुगेर स्थिति नियन्त्रणमा लिनुअघि प्रदर्शनकारीहरूले नजिकैको प्रहरी चौकीमा आगजनी गरेको र वाणिज्य दूतावासका झ्यालहरू फुटाएको जानकारी उनले दिए।

प्रत्यक्षदर्शीहरूका अनुसार दर्जनौँ प्रदर्शनकारी वाणिज्य दूतावासबाट करिब एक किलोमिटर टाढा भेला भई अरूलाई पनि आन्दोलनमा सामेल हुन आग्रह गरिरहेका थिए। सुरक्षा बलले भीडलाई तितरबितर पार्नुअघि प्रदर्शनकारीमध्ये एकले वाणिज्य दूतावासको झ्याल जलाउने प्रयास गरेको उनीहरूले बताएका छन्।

कराँचीको तनावपूर्ण स्थितिलाई दृष्टिगत गर्दै पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले सबैलाई शान्त रहन अपिल गरेका छन्। एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, "अयातुल्लाह खामेनीको शहादतपछि पाकिस्तानका प्रत्येक नागरिक इरानका जनताको शोकमा सहभागी छन्।" उनले यसलाई "मुस्लिम उम्मा तथा इरान र पाकिस्तान दुवै देशका जनताका लागि शोकको दिन" भनेर वर्णन गरे। साथै, उनले कानुन आफ्नो हातमा नलिन र शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न नागरिकलाई आग्रह गरे।

यसैगरी, सिन्ध प्रान्तीय सरकारले पनि एक विज्ञप्ति जारी गरी नागरिकहरूलाई शान्तिपूर्ण रूपमा आफ्ना विचार व्यक्त गर्न र हिंसामा संलग्न नहुन चेतावनी दिएको छ। कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास वरपरको क्षेत्र घण्टौँसम्म चलेको प्रदर्शनका कारण 'द्वन्द्वग्रस्त क्षेत्र' जस्तो देखिएको थियो। अनुहार छोपेका दर्जनौँ शिया युवाले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्दै वाणिज्य दूतावासभित्र छिर्ने प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन त्यहाँ सयौँको सङ्ख्यामा प्रहरी र अर्धसैनिक 'रेन्जर्स' तैनाथ गरिएको छ।

पञ्जाब प्रान्तको मुल्तान सहरमा पनि शिया समुदायले इजरायल र संयुक्त राज्य अमेरिका विरुद्ध नाराबाजी गर्दै शान्तिपूर्ण र्‍याली निकालेका छन्। र्‍यालीमा सहभागी मामूना शेराजीले इरानका सर्वोच्च नेताको हत्याको विरोधमा आफूहरू सडकमा उत्रिएको बताइन्। खामेनीलाई पिता समान व्यक्तित्व र शियाहरूको बलियो आवाजका रूपमा चित्रण गर्दै उनले भनिन्, "खामेनीले उत्पीडनमा परेका सुन्नी मुस्लिमहरूको पनि सधैँ समर्थन गर्नुभयो। ईश्वरको कृपाले हामी अमेरिका र इजरायलका अगाडि कहिल्यै झुक्ने छैनौँ।"

यसैबीच, अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत कराँची र लाहोरमा भइरहेका प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ। दूतावासले पाकिस्तानमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचारको 'अलर्ट' मा रहन र भीडभाडबाट बच्न सल्लाह दिएको छ।