मध्यपूर्वमा तनाव बढेपछि खाडी र इजरायलमा रहेका नेपालीलाई सतर्क रहन सरकारको आग्रह

मध्यपूर्वमा इरान र इजरायल–अमेरिकाबीच शुरू भएको सैन्य तनावपछि सरकारले खाडी मुलुक र इजरायलमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

काठमाडौँ– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त सैन्य आक्रमण शुरू गरेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

इरानले जवाफी कारबाहीस्वरूप इजरायलका साथै कतार र यूएई लगायतका देशमा रहेका अमेरिकी सैनिक आधार क्षेत्रलाई लक्षित गरी प्रत्याक्रमण थालेपछि सरकारले ती मुलुकमा रहेका नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न र सुरक्षा सचेतना अपनाउन अनुरोध गरेको हो।

कतार, यूएई, साउदी अरब, कुवेत, इराक, बहराइनसहित इजरायलमा रहेका नेपालीहरूलाई सम्बन्धित देशले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन तथा सूचनाहरू कडाइका साथ पालना गर्न सरकारले अनुरोध गरेको छ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै स्थानीय सुरक्षा निकायका अधिकारीले दिएका निर्देशनहरूको पूर्ण पालना गर्न, शान्त रहन र कुनै पनि भ्रामक अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। दूतावासहरूले अत्यावश्यक नपरी बाहिर ननिस्किन, स्थानीय समाचार 'अलर्ट' मा रहन र अन्य देशमा यात्रा गर्नुअघि एयरलाइन्ससँग उडान तालिकाबारे जानकारी लिन समेत भनेका छन्।

इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकाय र 'होम फ्रन्ट कमाण्ड' ले जारी गरेका निर्देशनहरू कडाइका साथ पालना गर्न विशेष आग्रह गरेको छ। दूतावासले शनिबार सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र दूतावासको नियमित सम्पर्कमा रहन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस् र आ–आफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।” दूतावासले सम्बन्धित अधिकारीहरूको अनुमतिबिना यात्रा नगर्न, आधिकारिक घोषणाको निरन्तर निगरानी गर्न तथा तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहनसमेत सुझाएको छ।