इरान र इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह

मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।

काठमाडौँ– मध्यपूर्वमा बढ्दो तनाव र अमेरिका–इजरायल तथा इरानबीचको सैन्य आक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले इरान र इजरायलमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न र विशेष सावधानी अपनाउन सूचित गरेको हो। मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

मन्त्रालयले ती देशमा रहेका नेपालीलाई सम्भव भएसम्म घरभित्रै बस्न, सुरक्षा सतर्कता अपनाउन र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ। सम्बन्धित देशका अधिकारीहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न र कुनै पनि समस्या परेमा काठमाडौँस्थित परराष्ट्र मन्त्रालयका साथै तेल अभिभ र दोहास्थित नेपाली दूतावासको सम्पर्कमा रहन निर्देशन दिइएको छ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इजरायल वा इरान जाने योजनामा रहेका नागरिकहरूलाई परिस्थिति स्थिर नभएसम्मका लागि आफ्नो यात्रा स्थगित गर्न समेत सरकारले सुझाव दिएको छ।

यसैगरी, मध्यपूर्वका अन्य देशहरूमा कार्यरत नेपाली श्रमिक तथा नागरिकहरूलाई पनि सम्बन्धित देशका सुरक्षा निकायले दिने सुझाव र घटनाक्रमहरूको निरन्तर अनुगमन गर्न भनिएको छ। मन्त्रालयले परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै विदेशस्थित कूटनीतिक नियोगहरूलाई नेपालीहरूको सुरक्षाका लागि तयारी अवस्थामा रहन र नियमित सूचना प्रवाह गर्न निर्देशन दिएको छ।

आपतकालीन अवस्थामा काठमाडौँस्थित परराष्ट्र मन्त्रालयको हटलाइन (+९७७-९८६२६७८४३७), तेल अभिभस्थित नेपाली दूतावास (+९७२-५४५५८२०७७) र दोहास्थित नेपाली दूतावास (+९७४-६६२१४४१९) मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ। नेपाली नागरिकको सुरक्षाका लागि मन्त्रालयले इमेलमार्फत पनि समन्वय गरिरहेको जनाएको छ।