निर्वाचन आचारसंहिता उल्लंघनमा आठ जनालाई कारबाही

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ।

काठमाडौँ– निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ।

राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानून अधिकृत मोहनराज जोशीले जानकारी दिए।

आयोगले आचारसंहिता उल्लंघनको उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा फर्स्योट गरिएको छ। आयोगका अनुसार सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएका छन्।