कस्तो रहला निर्वाचनका दिन मौसम?

आगामी निर्वाचनको समयमा देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नपर्ने र तराईमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा यही फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ।

शुक्रबार साँझ निर्वाचन विशेष मौसम बुलेटिन जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले हालसम्मको मौसमी तथ्यांकहरूको विश्लेषणका आधारमा आसन्न निर्वाचनका बेला खासै ठूलो मौसम प्रणालीको प्रभाव नदेखिने स्पष्ट पारेको हो।

यद्यपि, हिमाली र पहाडी क्षेत्रमा भने आंशिक बदली रहने र एक–दुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली भई हिमाली भेगका केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात हुने तथा मधेस प्रदेशमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली भए पनि वर्षा र हिमपात हुने सम्भावना नदेखिएको विशेष मौसम बुलेटिनमा उल्लेख छ।

सबै प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा रहनेछ। विभागले नियमित अनुगमन र अद्यावधिक गर्ने भएकाले दैनिक सूचनाबारे जानकारी लिन सबैमा अनुरोध गरेको छ।