विमानस्थलबाट ४८ थान राहदानीसहित एक जना पक्राउ

भुटान एयरलाइन्सबाट दिल्ली उड्न लागेका नागार्जुनका तारा चन्द चौधरीलाई अवैध रूपमा ४८ थान नेपाली राहदानी ओसारपसार गरेको आरोपमा विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ठूलो संख्यामा नेपाली राहदानी विदेश लैजान लागेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन्। ४८ थान राहदानीसहित काठमाडौँको नागार्जुन नगरपालिका–१ घर भएका ४५ वर्षीय तारा चन्द चौधरीलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

बिहीबार भुटान एयरलाइन्सको उडान नम्बर बी३ ७७३ मार्फत काठमाडौँबाट दिल्ली जान लागेका चौधरीको गतिविधि विमानस्थलको प्रस्थानतर्फको सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएको थियो। अन्तर्राष्ट्रिय उडानतर्फको ‘ह्यान्ड ब्यागेज’ चेकिङ एरियामा रहेको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको पछाडि भिर्ने कालो रङको झोलाभित्र राहदानीहरू लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट ४८ थान नेपाली राहदानी बरामद गरिएको छ। राहदानी नम्बर पीए १८७८६९३ वाहक रहेका चौधरीले ती राहदानीहरू के प्रयोजनका लागि र कसको आदेशमा बाह्य मुलुक लैजान लागेका हुन् भन्नेबारे खुलेको छैन।

पक्राउ परेका चौधरीलाई थप अनुसन्धान र आवश्यक कानूनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।