१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक एक करोड ११ लाखभन्दा बढी मतपत्रसहितका सबै सामग्री देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौँ– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीतर्फका गरी कुल चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अब अन्तिम चरणमा पुगेको छ।

आयोगबाट स्वीकृत कार्यतालिका अनुसार व्यवस्थापकीय कार्यहरू तोकिएको समयमै सञ्चालन भइरहेका छन्। दुवै निर्वाचन प्रणालीका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा ढुवानी भइसकेको छ। केही सामान्य सामग्री भने जिल्लास्तरमै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ।

स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ। मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनाका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रूपमा कार्यसम्पादन गरिरहेका छन्।

यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसार शुरू गरेका छन्। प्रचारप्रसारलाई प्रचलित कानून र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिइसकेको छ।