निर्वाचनका दिन अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अघिल्लो दिन राति १२ बजेदेखि मतदान नसकिँदासम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउँदै सातमध्ये कुनै एक परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका साधन), कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीसाधनबाहेक अन्यलाई फागुन २० गते राति १२:०० बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगले मतदानको सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मुलुकभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ। बैठकले ७७ वटै जिल्लामा यसको पूर्ण पालना गराउने निर्णय गरेको हो।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिन र उल्लंघन गर्नेलाई तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।

निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने 'प्रचारप्रसार निषेध अवधि' (मौन अवधि) को पूर्ण पालना गराउन सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ।

उनका अनुसार मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत सञ्चालन हुनेछन्। हवाई टिकट भएका यात्रुलाई विमानस्थलदेखि बासस्थानसम्म आउजाउ गर्न निजी वा सम्बन्धित एयरलाइन्सको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।

त्यस्तै, निर्वाचनको ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृह मन्त्रालयमार्फत पत्राचार गरेको छ।

मतदाताले मतदानका लागि जाँदा मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमतिपत्रमध्ये कुनै एक कागजात साथमा लैजानुपर्नेछ। मतदाता नामावलीमा नाम भएका मतदाताले यी परिचयपत्रका आधारमा मतदान गर्न पाउनेबारे सबै सुरक्षाकर्मी र कर्मचारीलाई सूचना सम्प्रेषण गर्न निर्देशन दिइएको छ।

आयोगले सवारी पास वितरणका लागि आफ्नो सचिवालय परिसरमा इकाई खडा गर्ने भएको छ। जसमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खटिनेछन्।