रोशीका बाढीपीडितको अवस्था अझै कष्टकर, छैन चुनावी चहलपहल (तस्वीरहरू)

गत वर्ष असोज दोस्रो साताको बाढीबाट विस्थापित रोशीवासीको अवस्था अझै कष्टकर छ। यति बेला देशभर चुनावी माहौल छाए पनि रोशीमा उम्मेदवारहरूसमेत खुलेर भोट माग्न घरदैलोमा नआएको स्थानीयको गुनासो छ।

तस्वीर : विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

काभ्रेपलान्चोक– अहिले देशभर चुनावी माहौल छाएको छ। नयाँ पुस्ता ‘जेन–जी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्दै छ। तर, २०८१ असोज दोस्रो साता आएको भीषण वर्षाका कारण प्रभावित बनेको काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नं २ अन्तर्गतको रोशी क्षेत्रमा भने चुनावको खासै चहलपहल देखिँदैन।

null

जलवायु परिवर्तनसँगै अव्यवस्थित रूपमा सञ्चालन गरिएका खानीका कारण सो क्षेत्रका अधिकांश स्थानीयले घर–खेत गुमाउनुपरेको छ। बाढीले विस्थापित भएका उनीहरूको अवस्था अझै कष्टकर छ।

null

सो क्षेत्रमा यस पटकको निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। यद्यपि, उम्मेदवारहरू खुलेर भोट माग्न नआएको स्थानीय राधिका केसी बताउँछिन्। निर्वाचनका लागि नेताहरू बाटोतिर हिँडेको देखे पनि प्रत्यक्ष रूपमा घरदैलोमा नआएको उनले बताइन्।

null

घरखेत बगरमा परिणत भएपछि पीडितले राहतका नाममा केही बोरा चामल र केही रकम मात्र पाएका छन्। तर, दीर्घकालीन समस्या समाधानका लागि स्थानीय निकाय र सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ।

null

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ सो क्षेत्रबाट एमालेका गोकुल बाँस्कोटा ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए। यसपटक एमालेबाट ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय वसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन्।

null

दुईदिने झरीमा उर्लिएर आएको रोशी खोलाले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौँ बस्ती बगाएको थियो। घरखेत, विद्यालय र पक्की पुलहरू अझै पुनर्निर्माण हुन सकेका छैनन्। सो क्षेत्रको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ।