‘थारू समुदायलाई पार्टीहरूले राजनीति दास मात्र बनाउने प्रवृत्ति भयो। यसको अन्त्यका लागि मैले उम्मेदवारी दिएको हो। हामीले थारूका मुद्दालाई अग्रस्थानमा राखेका छौँ।’
तपाईंको उम्मेदवारी केका लागि?
अवस्था परिवर्तनका लागि। गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले विद्रोह गर्यो। त्यही विद्रोहपछि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन लागेको छ। अवस्था परिवर्तनका लागि जुन आन्दोलन भयो। त्यसलाई सबैले सकारात्मक रूपमा लिनुपर्छ। त्यो आन्दोलनलाई साकार गर्न, देशमा सुशासन र भ्रष्टाचार अन्त्यको अभियानमा सारथि हुन म चुनावी मैदानमा होमिएको हुँ।
मतदातासँग के भनेर मत मागिरहनुभएको छ?
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबलीकरण र सुदृढीकरण गर्न आवश्यक छ। अहिले देश विषम परिस्थितिमा छ। यस्तो समयमा व्यवस्था बलियो बनाउनुपर्छ भन्ने मान्यतामा म छु। अहिलेको अवस्था परिवर्तन हुन आवश्यक छ। त्यसका लागि पनि मैले मत मागिरहेको छु। यसअघि प्रदेशसभा सदस्य निर्वाचित भएर लुम्बिनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइरहँदा पनि मैले धेरै काम गर्ने प्रयास गरेको थिएँ।
अहिले देश संकटमा परेको बेला योगदान गर्नुपर्छ भनेर चुनावमा होमिएको छु। बर्दिया मात्र होइन समग्र देशकै विकास निर्माण र नीति नियम फेरबदल गर्नका लागि पनि भूमिका खेल्छु भनेर मत मागिरहेको छु।
चुनावी अजेन्डा के अघि सार्नुभएको छ?
निर्वाचित भइसकेपछि संघमा मेरो सकारात्मक भूमिका रहन्छ। बर्दिया कृषिमा मात्रै निर्भर छ। चारैतिर नदीनाला छन्। बर्सेनि बाढी पहिरोको समस्या छ। तटबन्धको समस्या छ। यहाँ जंगली जनावरले आक्रमण गर्ने समस्या छ। यी समस्या समाधानका विषय संघीय सरकारको नीतिसँग जोडिएका छन्। संसद्मा गएर यो नीति परिमार्जन र संशोधन गरेर समस्या समाधान गर्नुपर्नेछ। नीति र कानूनमा समस्या छ। वन ऐन संशोधन गर्नु छ। त्यो अहिलेसम्म कसैले गर्न सकेन। अब मेरो मुख्य अजेन्डा नै यही रहन्छ।
तपाईंले उठाएका समस्या अहिलेसम्म किन सम्बोधन हुन सकेन?
म प्रदेश सांसद मात्रै थिएँ। यी समस्या भनेको संघबाट हुनुपर्ने हो। संघीय संसद्बाट कानून संशोधन नगरेसम्म यहाँका समस्या समाधान हुने अवस्था छैन। प्रदेशलाई त अहिले अधिकार दिएको छैन। समस्या संघीय संसद्सँग जोडिएका छन्। त्यहाँबाट परिमार्जन गर्नुपर्ने कानून धेरै छन्। अहिलेसम्म कसैले गरेन। मैले यी नै विषयलाई अघि सारेको छु। संघीय सांसद्ले नै नीति निर्माण गर्ने हो त्यसका लागि सदनमा जोडदार आवाज उठाउने हो। यहाँ मलखादको समस्या बर्षौंदेखि त्यस्तै छ। राज्यले समानुपातिक हिसाबले मल वितरण गर्न सकेको छैन।
जेन–जी आन्दोलनपछि विषम परिस्थितिमा हुन लागेको चुनावलाई कसरी हेर्नुभएको छ?
हरेक आन्दोलनलाई आत्मसाथ गर्नुपर्छ। जेन–जी विद्रोहलाई पनि हामीले त्यसैअनुसार स्वीकार गरेर जानुपर्छ। भ्रष्टाचार हुने देशमा नेपाल अघि आइरहेका बेला यो आन्दोलन भयो। यसको भावनालाई बुझेर अब काम गर्नुपर्ने जरुरी छ। अबको चुनावबाट राम्रो नेतृत्व छनोट गरेर मुलुकको संवृद्धि र विकासमा केन्द्रित हुनुपर्छ।
आफ्नो प्रतिस्पर्धीलाई कतिको बलियो देख्नुभएको छ?
चुनावी मैदानमा होमिएका सबै प्रतिस्पर्धी बलियो नै छन्। सबैलाई शुभकामना दिन चाहन्छु। मैले ठूलो मतान्तरले चुनाव जित्नेमा निश्चित छु। यसअघि नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य लड्दा पनि ठूलो मतान्तरले जितेको थिएँ। जनताले मलाई विश्वास गरेका छन्। त्यसैले सबै उम्मेदवारलाई शुभकामना दिँदै चुनाव मैले जित्छु भन्नेमा ढुक्क छु।
हिजो राजनीतिक पार्टी छिन्न भिन्न भयो। अहिले नयाँ पार्टीबाट चुनाव लडिरहनुभएको छ, सहज हुन्छ त?
मैलै प्रदेश सांसद र मन्त्री भएर जुन योजनाअनुसार काम गरेको छु, त्यो नै मेरो जितको आधार हो। म अहिलेसम्म कुनै पनि दाग नलागेको व्यक्ति हुँ। संघीयताको सबलीकरण गर्नु छ। थारू समुदायले अहिले पहिचान खोजेको छ। यो क्षेत्र थारू समुदायको बाहुल्य भएको क्षेत्र हो। अहिलेका अन्य उम्मेदवारभन्दा कुनै पनि हिसाबले म कमजोर छैन। यहाँका सबै समुदायले मैले के गर्न सक्छु भन्ने राम्रोसँग बुझेका छन्।
थारू समुदायका मुद्दा त ओझेलमा परे नि हैन?
म अर्को पार्टीबाट चुनावमा होमिए पनि हाम्रा कुनै पनि मुद्दा ओझेलमा पर्दैनन्। म पार्टीमा पनि कार्यकारी भूमिकामा छु। थारू समुदायलाई सबै पार्टीले प्रयोग गर्ने राजनीति दास मात्र बनाउने प्रवृत्ति भयो। तर, उज्यालो नेपाल पार्टीले जुन भूमिका दिएर उम्मेदवार बनाएको छ। त्यसले थप थारू समुदायका मुद्दालाई बलियो बनाउन भूमिका खेल्ने छ। म अहिले जोडिएको पार्टीले पनि थारूका मुद्दालाई अग्रस्थानमा राख्छ।
थारू समुदायका नेता छिन्नभिन्न हुने अवस्था किन आयो?
थारू समुदाय आफै पनि राजनीतिक चेतना कम भएको समुदाय हो। राज्यमा सबैभन्दा बढी भूमिका खेलेको तर, राज्यका नीति नियम र सबै तहमा उपेक्षित गरेका कारण पनि हो। सधैँ भोट बैंकका रूपमा मात्रै प्रयोग गर्ने काम भयो। विगतमा थारू समुदायका नेता एकै ठाउँमा आएर पार्टी गठन भयो तर, त्यो जोगिन सकेन। अहिले थारू समुदायका विभिन्न नेता अलगअलग पार्टीमा जोडिएका छन्। कोही उम्मेदवारीका लागि गए होलान् कोही केही आशा राखेर गएका होलान्। तर, म थारू समुदायका मुद्दा ओझेलमा पार्नु हुन्न भनेर अघि बढेको हुँ। मैले पार्टी नरोजेर जनता रोजे। जेन–जी आन्दोलन भइसकेपछि गठन भएको पार्टी रोजेँ। पहिले नै मैले पार्टी छोडेर अन्त गएको होइन। जो जहाँ भए पनि थारू समुदायको मुद्दालाई आत्मसाथ गरेर जान सक्नुपर्छ।
उज्यालो नेपाल पार्टीले थारू समुदायको मुद्दालाई अघि बढाउन सक्छ त?
नेपाली जनताले विश्वास गर्नुपर्छ। जनताले अहिले भरपर्दो नेतृत्व चाहिरहेका छन्। चुनावी मैदानमा विभिन्न पार्टी छन्। तीनका अजेन्डा पनि फरकफरक होलान्। तर, हाम्रो पार्टीको नेतृत्व कर्मचारीतन्त्र र तीन महिना मन्त्री चलाउँदा पनि सफल भएको व्यक्ति हो। जलस्रोतको धनी देश नेपालमा यसको उचित प्रयोग गरेर अघि बढाउन सक्ने नेतृत्व भनेकै हाम्रो पार्टीको अध्यक्ष कुलमान घिसिङ हो। उहाँसँग निश्चित योजना र भिजन छ। त्यो भिजनले थारू समुदायको मात्र होइन समग्र देशको नै विकास गर्न सक्ने भएकाले हामी नयाँ योजना स्थापित गर्न सक्छौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
