अन्य दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्नू: आयोग

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारमा अवरोध पुर्‍याउनेलाई २ लाख रुपैयाँ जरिबाना वा ३ वर्षसम्म कैद हुन सक्ने कानूनी प्रावधान स्मरण गराउँदै त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको छ।

काठमाडौँ– निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अन्य दल, कार्यकर्ता वा नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रस्ट पारेको छ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा एक दल वा उम्मेदवारले अर्को पक्षको प्रचारमा अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएपछि आयोगले त्यसो नगर्न आह्वान गरेको हो। चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

विभिन्न सञ्चारमाध्यमबाट प्राप्त जानकारीका आधारमा आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। राजनीतिक दल, उम्मेदवार वा दलका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा 'निर्वाचन आचारसंहिता, २०८२' को दफा १३ मा स्पष्ट व्यवस्था गरिएको उनले बताए।

सो दफामा ‘कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने’ व्यवस्था छ।

त्यसैगरी 'निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३' को दफा २० अनुसार निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। आयोगले सो कानुनी प्रावधानतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।

आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व सबै सरोकारवालाको भएको प्रवक्ताले बताए। कानुन विपरीतका कार्य गरी प्रचारप्रसारमा अवरोध पुर्‍याएको पाइएमा आचारसंहिता बमोजिम कारबाही हुने जानकारी समेत आयोगले दिएको छ।