लागुऔषध तस्कर मारिएपछि मेक्सिको अशान्त, विश्वकप पर्यटनमा चिन्ता

मेक्सिकोको जलिस्कोमा लागुऔषध गिरोहका नेताविरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले सन् २०२६ को विश्वकप पर्यटन र सुरक्षामा चुनौती थपेको छ।

सन् २०२६ को फिफा विश्वकप आयोजनाको तयारीमा रहेको मेक्सिकोमा शक्तिशाली लागुऔषध गिरोहविरुद्धको सैन्य कारबाहीपछि भड्किएको हिंसाले पर्यटन क्षेत्र चिन्तित बनेको छ। विशेष गरी जलिस्को राज्यका शहरहरूमा भएका गोलीबारी र विस्फोटका घटनाले स्थानीय व्यवसायी र पर्यटक दुवैमा त्रास बढाएको छ।

जलिस्कोको पहाडी शहर टपाल्पामा सानो पसल सञ्चालन गर्दै आएकी ५० वर्षीया मारिया डोलोरेस अगुइरेका अनुसार पछिल्लो हिंसाले जीविकोपार्जनमै असर पार्ने डर बढेको छ। मेक्सिकाली सेनाले ‘एल मेन्चो’ उपनामले चिनिने लागुऔषध गिरोहका नेता नेमेसियो ओसेगुरा सर्भान्टेसविरुद्ध कारबाही गर्दा भीषण गोलीबारी र हेलिकप्टरको गतिविधि देखिएको थियो। उक्त सैन्य अपरेशन र त्यसपछिको झडपमा ७० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

ओसेगुरा सर्भान्टेस 'जलिस्को न्यु जेनेरेसन' लागुऔषध गिरोहका प्रमुख थिए, जो फेन्टानिल, मेथामफेटामाइन र कोकेन तस्करीमा संलग्न रहँदै आएका थिए। ह्वाइट हाउसले उक्त अपरेशनमा अमेरिकी खुफिया सहयोग रहेको पुष्टि गर्दै मेक्सिकाली सेनाको प्रशंसा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले उनको गिरफ्तारीका लागि सूचना दिने व्यक्तिलाई १ करोड ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको थियो।

मेक्सिको सरकारले लागुऔषध गिरोहविरुद्धको कारबाहीलाई तीव्र बनाउँदै लगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपराधिक समूहविरुद्ध कडा कदम नचाले थप कर वा एकपक्षीय सैन्य कारबाहीको चेतावनी दिएका थिए। विश्वकै ठूलो फेन्टानिल तस्कर मानिएका नेताको मृत्युले दबाब कम हुने अपेक्षा गरिए पनि अहिले सम्भावित प्रतिशोधको चिन्ता बढेको छ।

प्रशान्त तटीय पर्यटकीय शहर पोर्टो भल्लार्टामा आइतबार विस्फोट र कालो धुवाँ देखिएपछि पर्यटकहरू त्रसित भएका थिए। ५७ वर्षीय अमेरिकी पर्यटक स्टिभ पर्किन्स र उनकी पत्नी गेलले होटलको छतमा रहँदा ठूलो विस्फोटको आवाज सुनेका थिए। सोमबार उडान रद्द भएपछि उनीहरूको स्वदेश फिर्तीमा समेत ढिलाइ भएको छ। सन् २०१२ देखि नियमित रूपमा यहाँ भ्रमण गर्दै आएका उनीहरूले अब भविष्यमा पुनः आउने विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।

टपाल्पामा अगुइरेका १५ वर्षीय छोराको विद्यालय हिंसाकै कारण बन्द गरिएको छ। उनका अनुसार अहिले उक्त क्षेत्र सेना वा लागुऔषध गिरोहमध्ये कसको नियन्त्रणमा छ भन्ने स्पष्ट छैन। “यदि नेताको मृत्यु भएको हो भने अब नेतृत्व र नियन्त्रणका लागि फेरि सङ्घर्ष हुन सक्छ,” उनले चिन्ता व्यक्त गरिन्।

जलिस्को राज्यले आगामी विश्वकपका खेलहरू आयोजना गर्ने भएकाले सुरक्षा व्यवस्थाप्रति विशेष चासो बढेको छ। स्थानीय व्यवसायीका अनुसार हालैका हिंसात्मक घटनाले विदेशी पर्यटकलाई भ्रमण गर्ने निर्णय फेर्न बाध्य पार्न सक्छ। त्यसैले सरकारले कडा सुरक्षा प्रबन्ध गरी आगन्तुकहरूको विश्वास जित्नुपर्ने देखिन्छ।