वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगन्जको श्रीपुर घटनापछि सद्भाव कायम राख्न सर्वपक्षीय बैठकले तीनबुँदे सहमति गरेसँगै प्रशासनले कर्फ्यु हटाएर मंगलबार बिहानसम्मका लागि नगरका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

पर्सा– जिल्ला सुरक्षा समिति, पर्साले वीरगन्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर लगाएको कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज बिहान ९:४५ बजेदेखि लगाएको कर्फ्युलाई साँझ ४:३० बजेदेखि निषेधाज्ञामा सीमित गर्ने आदेश जारी गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले आइतबार वीरगन्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटनाको सम्बन्धमा तीनबुँदे सहमति गरेसँगै प्रजिअ दाहालले कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेका हुन्।

“समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको र सम्बद्ध पक्षसँग आज भएको सर्वपक्षीय बैठकको निर्णयसमेतका आधारमा उक्त कर्फ्यु आदेशलाई निरन्तरता दिइरहनुपर्ने नदेखिएकाले सोमबार साँझ ४:३० बजेदेखि लागू हुने गरी हटाइएको छ,” प्रजिअ दाहालले भने।

परिस्थिति पूर्ण रूपमा सामान्य भइनसकेको अवस्थालाई मध्यनजर गरी वीरगन्ज महानगरको चार किल्ला क्षेत्रमा मंगलबार बिहान ८:०० बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकलाई सिमाना तोकेर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो।