वीरगन्जको श्रीपुर घटनापछि उत्पन्न तनाव कम गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दोषीलाई कारबाही गर्ने र सामाजिक सद्भाव कायम राख्नेलगायतका सहमति गरेको छ।
वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिका–११, श्रीपुरमा बिहीबार साँझ भएको विवाद र त्यसपछि उत्पन्न तनावलाई साम्य पार्न स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजले साझा प्रतिबद्धता जनाएका छन्। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव बिथोल्ने तत्त्वहरूलाई कानूनी दायरामा ल्याउने र संयम अपनाउनेलगायत तीनबुँदे सहमति गरेको हो।
बैठकले श्रीपुरमा भएको घटना र त्यसबाट सिर्जित परिस्थितिका दोषीलाई तत्काल पहिचान गरी कानूनी कारबाही गर्ने सहमति गरेको छ। “पीडित पक्षबाट जाहेरी लिएर आवश्यक कानूनी प्रक्रिया यथाशीघ्र सम्पन्न गरिनेछ,” बैठकको सहमतिमा भनिएको छ, “यस्ता दोषीहरूलाई कानूनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले समेत आवश्यक सहजीकरण गर्नेछन्।”
पछिल्लो समय सामाजिक सञ्जालमार्फत उत्तेजना फैलाउने कार्य बढेको भन्दै बैठकले त्यस्ता गतिविधि गर्नेलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने उल्लेख गरिएको छ। “व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर सामाजिक सद्भावमा खलल पुग्ने गरी भ्रामक प्रचार गर्ने, ‘भाइरल’ बनाउने र हेट स्पीच (घृणास्पद अभिव्यक्ति) प्रसारण गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइनेछ,” सर्वपक्षीय सहमतिमा भनिएको छ।
बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र धार्मिक अगुवाहरूले आ–आफ्नो संस्था वा निकायबाट आधिकारिक विज्ञप्ति प्रकाशन गरी सामाजिक सद्भाव कायम राख्न अपिल गर्ने सहमतिसमेत गरेका छन्।
वीरगन्जको श्रीपुर क्षेत्रमा आइतबार दुई समुदायबीच झडप भएको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर प्रशासनले शुक्रबार बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटलाई कर्फ्युको सीमा तोकेको छ। यस अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन र सभा गर्न निषेध गरिएको छ। यद्यपि, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरूलाई भने आवतजावतमा सुरक्षाकर्मीले सहजीकरण गर्ने कार्यालयले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई संयमित रहन र कुनै पनि प्रकारका अफवाहको पछि नलाग्न विशेष आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
