आयोगमा ४१ दलले पेश गरे घोषणापत्र, ८६७ उम्मेदवारले खोले बैंक खाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४१ राजनीतिक दलले आफ्नो घोषणापत्र पेश गरेका छन् भने ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनार्थ बैंक खाता खोलेका छन्।

काठमाडौँ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन्।

उनले भनिन्, “निर्वाचन प्रचारप्रसारका लागि अहिले बैंक खाता खोल्ने क्रम एकदमै बढेको छ। जिल्लाबाट प्राप्त विवरण अनुसार सात राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलिसकेका छन्। आइतबारसम्म धेरैजसो उम्मेदवारहरूले खाता खोलिसक्ने अपेक्षा छ।”

सहायक प्रवक्ता पुनका अनुसार हालसम्म ४१ वटा दलले आयोगमा आफ्नो घोषणापत्र पेस गरिसकेका छन्। “हालसम्म घोषणापत्र पेस गर्ने दल ४१ वटा रहेका छन्। उम्मेदवारहरूको अन्तिम तथ्याङ्क (डाटा) भने अहिलेसम्म आइसकेको छैन,” उनले भनिन्।

निर्वाचन आयोगले सामाजिक सञ्जालमा हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ।

“निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ अन्तर्गतको ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ पूर्ण रूपमा क्रियाशील छ,” उनले स्पष्ट पारिन्।

हानिकारक सूचना सम्प्रेषण गर्नेहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि प्रहरीको साइबर ब्युरोमा पठाइएको आयोगको भनाइ छ। यस्तै, निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल कार्यक्रम सम्पन्न गरी थप परामर्श भइरहेको जनाएको छ।