निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन आह्वान

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदाताहरूलाई आह्वान गरेका छन्।

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएकाले मतदातालाई निर्धक्क भई यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धका बीच मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए। बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सुरक्षाका आवश्यक सबै प्रबन्ध मिलाउँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारीका सम्बन्धमा विस्तृत छलफल भएको थियो। बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, सातवटै प्रदेशका प्रमुख सचिव तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग प्रदेश र जिल्लागत सुरक्षा रणनीति कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए।