चीनमा पटाका विस्फोट, १२ जनाको मृत्यु

सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षमा धेरै प्रमुख चिनियाँ शहरले पटाका प्रयोगमा प्रतिबन्ध लगाएका छन्। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक छ।

नयाँ वर्षको उल्लासबीच चीनमा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ। उक्त घटनाले बिदाको समयमा ग्रामीण क्षेत्रमा व्यापक रूपमा आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ।

मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने पसलमा विस्फोट भएको थियो। राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभी) का अनुसार खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये पाँच जना बालबालिका छन्। 

सबै पीडितको पहिचान भइसकेको जनाइएको छ। रिपोर्टअनुसार पसलका मालिक मिस्टर लिनबाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए। मृत्यु हुने ग्राहकमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्तलाई भेट्न आएका थिए।

नयाँ चन्द्र वर्षका अवसरमा विशेष गरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाका फोड्ने परम्परा लोकप्रिय छ। यद्यपि सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षमा धेरै प्रमुख चिनियाँ शहरले यसको प्रयोगमा प्रतिबन्ध लगाएका छन्। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास व्यापक छ।

विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको जनाएको छ। बिदाको समयमा यस्ता घातक घटना दोहोरिने क्रम चिन्ताजनक रूपमा देखिँदै आएको छ। आइतबार मात्र पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो। (रासस/एएफपी)