उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको छ। 

तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली हुनेछ। लुम्बिनीसहित सुदूरपश्चिमका तराई तथा बाँकी पहाडी र हिमाली भागमा आंशिक बदली हुनेछ। 

देशका अन्य भूभागमा मुख्यतया मौसम सफा रहनेछ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

त्यसैगरी, राति पनि तराईका केही स्थानमा तुवाँलो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली हुनेछ। बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ। 

देशका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।