तामाकोशी बस दुर्घटना : थप एकको शव फेला, मृतकको संख्या १४ पुग्यो

तामाकोशी नदीमा बस खस्दा बेपत्ता भएकामध्ये थप एक जनाको शव मंगलबार फेला परेसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ स्थित लिलौती भिरबाट तामाकोशी नदीमा बस खस्दा बेपत्ता भएका थप एक जनाको शव मंगलबार फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो। दुर्घटनास्थलबाट करिब २५० मिटर दक्षिणमा फेला परेको उक्त शवको पहिचान (सनाखत) परिवारले गरेका हुन्। प्रहरीले शवलाई पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ।

गत माघ २७ गते काठमाडौँबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस सडकबाट भिरमा खसेको थियो। दुर्घटनाकै दिन १२ जनाको शव घटनास्थलमा फेला परेको थियो भने ८ जना घाइते भएका थिए।

हराइरहेका तीन जनामध्ये सोमबार मात्रै मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको खुर्कोट नजिकै फेला परेको थियो। थप दुई जनाको शव भेटिएसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। बसमा सवार ८ वर्षीय बालक रोनिस तामाङ अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।