काठमाडौँका २५० उम्मेदवारमध्ये आधाले मात्र खोले निर्वाचन प्रयोजनार्थ बैंक खाता

काठमाडौँका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका २५० उम्मेदवारमध्ये हालसम्म १२० जनाले मात्र निर्वाचन आयोगको निर्देशनअनुसारको बैंक खाता खोलेका छन्।

काठमाडौँ– संघीय राजधानी काठमाडौँकै आधाभन्दा बढी उम्मेदवारले हालसम्म बैंक खाता खोलेका छैनन्।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५० जनाले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट गर्न नहुने भन्दै राजनीतिक दलहरूलाई निर्देशन दिएको थियो। निर्वाचन आचारसंहितामै यो विषय उल्लेख गरिए तापनि आधाभन्दा बढी उम्मेदवारले अझै खाता खोलेका छैनन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत कारोबार गर्नुपर्ने व्यवस्था छ। यसबारे आइतबार पुनः विज्ञप्तिमार्फत सरोकारवालाको ध्यानाकर्षण गराइएको उनले बताए।

आयोगले आदेश दिएमा उम्मेदवारले खर्चको विवरण, बैंक खाताको स्टेटमेन्ट तथा सक्कल बिल भरपाई अनिवार्य रूपमा पेश गर्नुपर्ने जानकारीसमेत उनले दिए। भूगोल र निर्वाचन क्षेत्रअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ।