काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा नेपाल सरकारले एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था छ।
काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकांक (एक्यूआई) आज मध्याह्नसम्म १९१ पुगेको छ। यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ।
योसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ। ‘एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए। वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ। दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिए।
वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ।
“यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,” उनले भनिन्। सुक्खा रहेमा अझ झन् प्रदूषण बढ्न सक्ने भन्दै समयमा नै सचेत हुनसमेत पराजुलीको आग्रह छ। इन्डेक्सको तथ्यांकअनुसार देखि ५० एक्युआई राम्रो (हरियो संकेत) तथा ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो संकेत) मानिन्छ। त्यसैगरी, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ। यस्तै १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ। यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ। साथै प्रमुख शहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्सांकन गरिने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
