जेनजी प्रदर्शनका २०० घाइतेको वर्गीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ५९९ मध्ये हालसम्म प्राप्त दुई सय जनाको विवरणलाई वर्गीकरण गरेको छ।

काठमाडौँ– जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए।

गत कात्तिक र मंसिरमा १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उनले जानकारी दिए। “जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइतेहरू सम्पर्कमा आएनन् भनेर जानकारी दियो। त्यसैले वर्गीकरणको सङ्ख्या धेरै हुन सकेन,” प्रवक्ता बुढाथोकीले भने।

सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण संकलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने उनले जानकारी दिए। जेनजी प्रदर्शनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले उनीहरू सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ।

उनका अनुसार जेनजी प्रदर्शनका क्रममा कुल दुई हजार ५९९ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ।