कास्की जिल्ला अदालतले तत्कालका लागि रोक्यो रविविरुद्धका मुद्दा फिर्ता लिने प्रक्रिया

सर्वोच्च अदालतमा विचाराधीन रिटको अन्तिम किनारा नलागेसम्म रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता नहुने आदेश कास्की जिल्ला अदालतले दिएको छ।

फाइल तस्वीर

कास्की– कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ। जिल्ला न्यायाधीश नीतिज राईको एकल इजलासले सोमबार उक्त विषयमा सर्वोच्च अदालतमा विचाराधीन रिटको अन्तिम टुंगो नलागेसम्म मुद्दा फिर्ताको प्रक्रिया अघि नबढाउन आदेश जारी गरेको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछाने, जीबी राई र पूर्वडीआईजी छविलाल जोशीविरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सरकारको उक्त निर्णय कानूनसम्मत नभएको भन्दै युवराज पौडेल ‘सफल’ले माघ २ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

यता, महान्यायाधिवक्ताको निर्णयका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो। तर, जिल्ला अदालतका रजिस्ट्रार राजन खनालका अनुसार सर्वोच्चमा रिट विचाराधीन रहेकाले तत्काल सो प्रक्रिया अगाडि नबढ्ने भएको हो। सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै थप निर्णय गरिने अदालतले जनाएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको थियो। यसअघि रुपन्देही जिल्ला अदालतले पनि सर्वोच्चको निर्णय नआएसम्म मुद्दा फिर्ताको प्रक्रिया कार्यान्वयन गर्न नसकिने आदेश दिइसकेको छ।