दुई सातामा भटमास र सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य समायोजन गर्न निर्देशन दिए पनि कार्यान्वयन भएन।
काठमाडौँ– शंखमूल बस्ने मनीषा लम्सालले दुई साताअघि सूर्यमुख (सनफ्लावर) तेल लिटरको २४० रुपैयाँमा किनेकी थिइन्। त्यही तेल फागुन १ गते किन्दा २७५ रुपैयाँ तिर्नुपर्यो। “दुई हप्तामै एक लिटरमा ३५ रुपैयाँ बढेछ, चुनावले भाउ बढाएको भन्छन्, खै के हो” उनले गुनासो गरिन्।
दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक साताअघि नै मूल्य समायोजन गर्न निर्देशन दिएको थियो। खाद्यन्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख आयातकर्ता र वितरकलाई बोलाएरै अनुचित नाफा नलिई सामान बेच्न निर्देशन दिइएको थियो। तर उपभोक्ताले भने मूल्य घटेको महसुस गरेका छैनन्।
अघिल्लो महिनाको तुलनामा माघको दोस्रो सातादेखि सबै प्रकारका खाने तेलको मूल्य बढेको थियो। नेपाल खुद्रा व्यापार संघका अनुसार भटमास र सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म बढेको छ।
गत पुसमा प्रतिलिटर ४३० रुपैयाँमा बिक्री भएको भुटेको तोरीको तेल अहिले ४४० रुपैयाँ तिर्नुपर्छ। यस्तै, प्रतिलिटर २४५ रुपैयाँमा बिक्री भएको भटमास र सूर्यमुखीको तेल २७५ रुपैयाँ हाल्नुपर्छ। एक महिनाको अन्तरमै तेलको मूल्य अस्वभाविक बढ्दा भान्सा महँगिएको उपभोक्ताको गुनासो छ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर पनि दुई सातायता खाने तेलको मूल्य बढेको बताउँछन्। प्रतिलिटर २४० रुपैयाँ हाराहारीमा बेचेको तेल २९५ सम्म पुगेको उनको भनाइ छ। “यसको मूल्य किन बढ्यो भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन। बजार मूल्य उत्पादक र आयातकर्ताले निर्धारण गरिसकेका हुन्छन्, त्यसैको आधारमा हामीले बेच्ने हो,” उनी भन्छन्।
काठमाडौँ बुद्धनगरका श्रीकृष्ण भण्डारी खाने तेलको मूल्य होलसेलमै प्रतिकार्टुन २५० देखि ३०० रुपैयाँले बढेको बताउँछन्। “होलसेलमै ३०० रुपैयाँ बढेको छ। खुद्रा बेच्दा त महँगो पर्ने नै भयो। किन बढ्यो त थाहा भएन,” उनी भन्छन्।
आमउपभोक्ता भने चुनावकै कारण महँगी बढेको अनुमान गर्छन्। तर व्यवसायी अन्तर्राष्ट्रिय बजारमै कच्चापदार्थको मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि महँगिएको दाबी गर्छन्।
नेपाल चामल, तेल, दाल उद्योग संघका निवर्तमान अध्यक्ष सुबोध गुप्ताका अनुसार, आन्तरिक बजारमा, सूर्यमुखी र भटमासको तेलको खपत उच्च छ। यी तेलको कच्चा पदार्थ पूर्णतः आयातमै निर्भर छ। अर्कोतर्फ, उत्पादन घट्दा तोरी तेल उद्योगहरूले पनि कच्चा पदार्थ आयात गरिराखेका छन्। गुप्ता भन्छन्, “आयातमा निर्भर हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यहाँ पनि स्वभाविक मूल्य बढ्न जान्छ। अहिले भएको पनि त्यही हो।”
नेपाल वनस्पति घ्यू, तेल उत्पादक संघले हालै प्रेस विज्ञप्ति जारी गर्दै, प्रशोधित खाने तेलको मूल्यवृद्धि स्वदेशी उद्योगहरूको मनोमानी नभई अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य उतारचढावको कारण भएको दाबी गरेको छ। संघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा कच्चा सोयाबिन, सनफ्लावर तथा अन्य वनस्पति तेलको मूल्य दैनिक परिवर्तन भइरहन्छ।
डिजिटल माध्यमबाट यी मूल्यहरू पारदर्शी रूपमा हेर्न सकिने भएकाले नेपालका होलसेल व्यापारीहरूले समेत प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारको निगरानी गर्दै आएका छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी डलरको मूल्य निरन्तर बढ्दै जाँदा कच्चा खाने तेलको लागत बढ्न पुगेको संघको दाबी छ।
अन्तर्राष्ट्रिय वित्तीय तथ्यांक प्रदायक संस्था ट्रेडिङ इकोनोमिक्सका अनुसार, विश्वबजारमा सूर्यमुखी तेलको ‘फ्युचर्स’ मूल्य हालै प्रति मेट्रिक टन १५ सय ४० डलर नाघेको छ। यो मूल्य सन् २०२२ पछिको उच्च हो। रुस र युक्रेनबीचको निरन्तर तनाव र युक्रेनी प्रशोधन केन्द्रहरूमा भएका भौतिक क्षतिले निर्यात व्यापक कटौती भएको छ।
रुसले विभिन्न समयमा लगाएको निर्यात प्रतिबन्ध र परिवर्तनशील भन्सार शुल्कहरूले आपूर्ति प्रवाहलाई थप संकुचित बनाएको छ। अर्कोतर्फ, अर्जेन्टिनाले सन् २०२६ जनवरीमा तेल प्रशोधन र निर्यातलाई दोब्बरले बढाए पनि यसले बजारको असन्तुलनलाई आंशिक रूपमा मात्र कम गर्न सकेको उल्लेख गरिएको छ।
भान्साको महँगीलाई विश्व खाद्य संगठनको पछिल्लो प्रतिवेदनले पनि पुष्टि गरेको छ। एक साताअघि प्रकाशित रिपोर्ट अनुसार, जनवरीमा मात्रै विश्वव्यापी वनस्पति तेलको मूल्य सूचकांक २.१ प्रतिशतले बढेको छ।
यस्तै, भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्समा प्रकाशित एक रिर्पोट अनुसार, विश्वव्यापी खाने तेलको बजार अहिले एउटा यस्तो ‘संरचनात्मक अस्थिरता’को चरणमा प्रवेश गरेको छ, जहाँ मूल्यमा हुने तीव्र उतारचढाव अब सामान्य प्रक्रियाजस्तै बनेको छ। इन्डोनेसिया र ब्राजिलजस्ता ठूला उत्पादक राष्ट्रहरूले खाने तेललाई खाद्य प्रयोजनका लागि भन्दा ‘जैविक इन्धन’ उत्पादनमा बढी प्राथमिकता दिने नीति लिएपछि विश्व बजारमा खाने तेलको आपूर्तिमा स्थायी रूपमै संकुचन आएको छ।
कृषि मन्त्रालयको वार्षिक तथ्यांक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा तेलहन बाली दुई लाख ६२ हजार ५६१ मेट्रिक टन उत्पादन भएको थियो। यसमा तोरी, सस्र्युं, रायो, सूर्यमुखी, बदाम र झुसेतिलसहितका बालीको तथ्यांक समावेश छ।
कृषि मन्त्रालयका अनुसार, मुलुकमा वार्षिक साढे तीनदेखि चार लाख टन खाने तेल (सूर्यमुखी, तोरी, भटमासबाट उत्पादित) खपत हुन्छ । अपुग कच्चा पदार्थ उद्योगीले अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डबाट आयात गर्दै आएका छन्।
त्यसो त, व्यापारीले आन्तरिक प्रयोजनका लागि मात्र नभई सस्तो भन्सार शुल्कको फाइदा उठाउँदै पाम तेल, सूर्यमुखी र भटमास तेलको कच्चा पदार्थ ल्याएर भारत निर्यात गर्दै आएका छन्।
गत आर्थिक वर्ष १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको भटमास, सूर्यमुखी, पामको कच्चा पदार्थ आयात भएको थियो। त्यसमध्ये १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
