महाशिवरात्रिमा पशुपति दर्शनलाई सहज बनाउन ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने भक्तजनको आवतजावत सहज बनाउन विशेष ट्राफिक र पार्किङ योजना लागू गरिएको छ।
काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार साँझ पशुपति क्षेत्रको भ्रमण गरी भक्तजनहरूको दर्शन तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्। गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा उच्चपदस्थ पदाधिकारीसहित पशुपति क्षेत्र पुगेका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले तयारीबारे जानकारी गराएका थिए।
सुरक्षा व्यवस्थाबारे ‘ब्रिफिङ’ गर्ने क्रममा काठमाडौँ प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी कुल ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। उनका अनुसार प्रत्येक सिफ्टमा एक हजार २०० सुरक्षाकर्मी खटिने गरी व्यवस्था मिलाइएको छ। स्थानीय तह, पशुपति क्षेत्र विकास कोष, नेपाल स्काउट र सुरक्षा निकायको समन्वयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छ। भीडभाडमा हुन सक्ने चोरी, पाकेटमारी, लागूऔषध सेवन तथा सम्भावित दुर्व्यवहार नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मी समेत परिचालन गरिएको थापाले बताए।
सुरक्षा व्यवस्थाको अवलोकनपश्चात् मन्त्री अर्यालले दर्शनार्थीलाई सहज दर्शनको प्रबन्ध मिलाउन र सुरक्षामा कुनै कमी हुन नदिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा करिब सात लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ। दर्शनलाई सहज बनाउन आइतबार बिहान २:०० बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला रहने कोषले जनाएको छ।
कसरी हुँदै छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन?
यसैबीच, आइतबारको सवारी चाप व्यवस्थापन गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक योजना लागू गरेको छ। अत्यधिक भीडलाई मध्यनजर गर्दै सवारी आवागमनको रुट तय गरी पार्किङ स्थलहरू तोकिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दर्शनार्थीलाई सहज आवतजावतको वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएको बताए।
उनका अनुसार सिफल चौरमा दर्शनार्थी, पासवाहक र सुरक्षाकर्मीका सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ। गुह्येश्वरी पारि तीर्थयात्री र दर्शनार्थीका सवारीसाधन तथा पशुपति विकास कोषको कार्यालय/भण्डारखालमा पासवाहक सवारीसाधन पार्किङ गरिने छ। तिलगङ्गा आँखा अस्पताल र करिडोर क्षेत्रमा तीर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारीसाधन राख्ने व्यवस्था मिलाइएको छ। वनकाली क्षेत्रमा भने शिविर सञ्चालन गर्ने सङ्घसंस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारीसाधन रहने छन्। प्रहरी वृत्त गौशालामा पासवाहक र सरकारी सवारीसाधन पार्किङको प्रबन्ध मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिए।
विभिन्न नाकाबाट भित्रिने भक्तजनका सवारीसाधनलाई छुट्टाछुट्टै स्थानमा पार्किङको व्यवस्था गरिएको छ। बाहिरी जिल्लाबाट आउने भक्तजनको सुविधाका लागि निर्बाध आवागमनको व्यवस्था मिलाइएको छ। गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन नियमित रूपमा चलाउन नसकिने अवस्था आएमा मात्र वैकल्पिक मार्ग प्रयोग गरिने छ। त्यसका लागि करिडोर र भित्री सडकहरूमा बाक्लो सङ्ख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ।
सामान्य अवस्थामा चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रमा सवारीसाधन निर्बाध चल्ने छन्, तर भीडभाड बढेमा डाइभर्सन गरिने छ। तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालवाहक सवारीसाधनलाई आवश्यकता अनुसार निषेध गरिएको छ। वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनका लागि गुह्येश्वरी पारि पार्किङ तोकिएको छ। गौशाला चोकमा अत्यधिक भीड भएमा चाबहिल, पुरानो बानेश्वर, रातोपुल र सिफल क्षेत्रबाट आउने सवारीलाई वैकल्पिक मार्गमा पठाइने प्रवक्ता सुवेदीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
