पाल्पा र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

पाल्पा र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी शनिबार दुई मोटरसाइकल चालक, एक वृद्धसहित चार जनाको मृत्यु भएको छ।

काठमाडौँ– सिद्धार्थ राजमार्ग र कान्तिलोकपथसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी शनिबार चार जनाको मृत्यु भएको छ।

पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिपर शनिबार दिउँसो एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा परी मोटरसाइकल चालक गुल्मीको कालीगण्डकी गाउँपालिका–पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र एक अपरिचित महिलाको मृत्यु भएको हो। प्रहरी चौकी दोभानको टोलीले घाइतेहरूलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको डीएसपी होमप्रकाश चौधरीले जानकारी दिए। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना र बसबाट लडेर दुईको मृत्यु
यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा शनिबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। रोकिएको ना ५ ख १८६१ नम्बरको ट्रकमा ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक सुवास थिङको मृत्यु भएको हो। ३५ वर्षीय थिङको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ ज्यामिरेमा बसबाट लडेर घाइते भएका एक वृद्धको पनि शनिबार मृत्यु भएको छ। गत माघ १० गते बाप्र ०३–००१ ख १९७२ नम्बरको बसबाट ओर्लिने क्रममा लडेर घाइते भएका चितवन रत्ननगर–६ का ६२ वर्षीय विष्णुबहादुर घिमिरेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।