नागढुंगाबाट पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

प्रहरीले नागढुंगामा कार जाँचका क्रममा एक थान पेस्तोल र चार राउन्ड गोलीसहित कीर्तिपुरका केयुर पुरी पक्राउ परेका छन्।

काठमाडौँ– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट शुक्रबार एक थान पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार जाँच गर्ने क्रममा उक्त हतियार बरामद गरेको हो।

कारको खानतलासी गर्दा ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल र चार राउन्ड गोली फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका पुरीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेवातालमा एसएलआर राइफल फेला
त्यस्तै, पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र त्यसमा प्रयोग हुने १८ राउन्ड गोली फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माघ २९ गते साँझ खपौँदी नजिक स्थानीय ४२ वर्षीय कुमार जलारीले माछा मार्ने क्रममा जालमा उक्त हतियार फेला पारेका थिए। बरामद गरिएको राइफलको बटमा 'मु.वा. १११' र बडीमा नम्बर '१३८१०' उल्लेख गरिएको छ।

हतियारसँगै राइफलमा लोड गरिएको १८ राउन्ड गोली र एक थान म्यागजिन समेत बरामद भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। प्रहरीले तालमा भेटिएको हतियार कसको हो भन्नेबारे विस्तृत अनुसन्धान शुरू गरेको छ।

“जाल हान्दा हतियार भेटिएको सूचना पाएलगत्तै प्रहरी पुगेर त्यसलाई नियन्त्रणमा लिएको हो। उक्त हतियार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा नेपाली सेनामध्ये कसको हो भन्नेबारे अनुसन्धान भइरहेको छ,” डीएसपी बस्नेतले भने।

प्रहरीको केन्द्रीय हतियार भण्डारण शाखामा हतियारको अभिलेख रहने भएकाले यसको पहिचान छिट्टै हुने प्रहरीको विश्वास छ। सो हतियार गत भदौ २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा कुनै सुरक्षा निकायबाट लुटिएको हुनसक्ने आकलनसमेत गरिएको छ।