प्रतिनिधिसभा निर्वाचन: छापियो १३३ निर्वाचन क्षेत्रको मतपत्र

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न गरी निर्वाचन आयोगले शुक्रबारदेखि कर्णाली प्रदेशका १० जिल्लामा ढुवानी थालेको छ।

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म एक करोड ७१ लाख ६३ हजार थान मतपत्र छापिएको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलान्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिए।

अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी छ। "आगामी तीन दिनभित्र बाँकी सबै जिल्लाको छपाइ सकिने अनुमान छ," न्यौपानेले भने। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब ११ देखि १५ लाखसम्म मतपत्र छपाइ र एक हजार बाकस प्याकिङ भइरहेको आयोगले जनाएको छ।

छपाइ सम्पन्न भएसँगै आयोगले शुक्रबारदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी शुरू गरेको छ। सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका लागि मतपत्र पठाइएको हो।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ शुरू भएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको तथ्यांक छ।