दार्चुलामा वृद्धाको हत्या गरी गरगहना लुटपाट, २ जना पक्राउ

दार्चुलाको शैल्यशिखरमा ७१ वर्षीया वृद्धाको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्यामा संलग्न भएको आरोपमा शैल्यशिखर–८ का २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार साउद ट्याक्टर चालक हुन् भने नाथ उनका सहयोगी हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छिमेकीसमेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या र लुटपाट भएको खुलेको छ। उनीहरूको साथबाट लुटिएका करिब दुई तोला सुनका गरगहना समेत बरामद गरिएको डीएसपी महतले जानकारी दिए।

पक्राउ परेका दुवै जनाको आपराधिक पृष्ठभूमि रहेको प्रहरीले जनाएको छ। मुख्य योजनाकार साउद यसअघि चोरी मुद्दामा ११ महिना र नाथ चार महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। दुवै जना लागुऔषध दुर्व्यसनमा समेत संलग्न रहेको पाइएको छ।

प्रहरीका अनुसार बयानका क्रममा दुवै अभियुक्तले आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् र घटनाबारे थप विस्तृत अनुसन्धान भइरहेको छ।