१५ प्रतिशतमा खुम्चियो विकास खर्च

महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ प्रतिशत र खर्च ४० प्रतिशतमा खुम्चिएको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको सात महिनामा  सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ प्रतिशत र खर्च ४० प्रतिशतमा खुम्चिएको छ।

चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा ८ खर्ब १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको ४०.८ प्रतिशत बराबर हो। चालुगत शीर्षकमा यस वर्ष ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७.६२ प्रतिशत अर्थात् ५ खर्ब ६२ अर्ब ३७ करोड १५ लाख बराबर खर्च भएको छ। 

त्यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५.६२ प्रतिशत अर्थात् ६३ अर्ब ७२ करोड ९९ लाख खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६.७१ प्रतिशत छ। यो शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा १ खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको छ।

यस आवका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४.४९ प्रतिशत प्रगति भएको छ। हालसम्ममा ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख बराबर राजस्व उठेको छ। कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५.२१ प्रतिशत अर्थात् ५ खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२.५५ अर्थात् ६५ अर्ब ७१ करोड तीन लाख बराबर असुली भएको छ।

चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो। माघ मसान्तसम्ममा १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४.०२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ।