बांग्लादेश चुनाव: मतदान केन्द्रमा झडपपछि बीएनपी नेताको मृत्यु

बांग्लादेशको खुलना सदर क्षेत्रको आलिया मदरसा मतदान केन्द्रमा दुई समूहबीच भएको झडपपछि बीएनपीका नेता कोचीको मृत्यु भएको छ।

बांग्लादेशको खुलना सदर क्षेत्रको आलिया मदरसा मतदान केन्द्रमा दुई समूहबीच भएको झडपपछि बांग्लादेश राष्ट्रवादी पार्टी (बीएनपी) का एक नेताको मृत्यु भएको छ।

बीबीसी बंगला सेवाका अनुसार, स्थानीय बीएनपी नेताहरूले खुलना महानगर बीएनपीका पूर्व सचिव मोहिबुज्जमान कोचीलाई चोट लागेपछि बिरामी परेको र त्यसैका कारण मृत्यु भएको आरोप लगाएका छन्। घटना बिहीबार बिहान भएको हो। केएमपीका आयुक्त मोहम्मद जाहिदुल हसनले बीबीसीसँगको कुराकानीमा बिहान दुई पक्षबीच झगडा भएको बताएका छन्। यसै क्रममा उनी बिरामी परेका थिए। पछि अस्पताल लगिँदा डाक्टरहरूले उनलाई मृत घोषित गरे।

खुल्ना-२ निर्वाचन क्षेत्रका बीएनपी उम्मेदवारका प्रमुख प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार  बिहान ८ बजेतिर आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातको लागि प्रचार गर्न थालेपछि कोचीले उनलाई रोकेका थिए। त्यसपछि दुई जनाबीच झगडा भयो। कोचीलाई धक्का लाग्दा रूखमा ठोक्किए, जसले गर्दा उनी बिरामी परे।

त्यसपछि उपचारका लागि खुलना सिटी मेडिकल कलेज अस्पतालमा लगिएकामा त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

यद्यपि, प्रहरीले अझै रुखमा ठोक्किएर चोट लागेको हो वा होइन भन्नेबारे स्पष्ट रूपमा बताएको छैन।