धनकुटाको भेडेटारमा गर्मी मौसममा पनि हुस्सु लागेर चिसो हुने हुँदा तराई र भारतको बिहारबाट समेत गर्मी छल्न पर्यटक आउँछन्। छोटो बसाइका लागि आउने यी पर्यटकको रोजाइ बन्न थालेको छ यहाँको स्काइवाक।
भेडेटार (धनकुटा)— माघ १३ गते इटहरीका अनिष रिमाल भेडेटारको स्काइवाक टावरमा भेटिए। उनी इटहरीबाट आफ्नी प्रेमिकासँग घुम्न आएका थिए। पहिले पनि उनीहरू भेडेटार आइरहन्थे, तर यसपालि स्काइवाकको अनुभव विशेष भयो।
स्काइवाकको भुइँमा पारदर्शी काँच छ। त्यसैले यसको चुच्चो भागतिर जाँदा तल गहिरो भीर देखिन्छ। यहाँ हिँड्ने आगन्तुकले डर र सौन्दर्य एकैपटक अनुभूति गर्छन्। “भेडेटारको स्काइवाकमा उभिँदा आकाशमै हिँडेजस्तो महसुस भयो। एउटा छुट्टै किसिमको अनुभव पाइयो,” अनिषले भने।
कतिपय सिसामा हिँड्न नसकेर वरिपरि लगाइएको फलाम समाइरहेका पनि हुन्छन्। सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटार पर्यटकीय गन्तव्य छँदै थियो, अहिले स्काइवाकको यो ‘एड्भेन्चर’ नयाँ परिचय बनेको छ।
भेडेटारमा गर्मी मौसममा हुस्सु लाग्ने र चिसो हुने हुँदा नजिक शहरबाट गर्मी छल्न पर्यटक आउँछन्। पछिल्लो समय भारतको बिहारबाट पनि पर्यटक छोटो बसाइका लागि भेडेटार आउने गरेका छन्।
एक वर्षमा एक लाख ७८ हजार पर्यटक
वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिले निर्माण गरेको स्काइवाक २० करोड रुपैयाँ लागतमा बनेको हो। यो परियोजना कोशी सरकारको प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका र वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिको सार्वजनिक—निजी साझेदारीमा निर्माण भएको हो।
यसमा ४१ मिटर लम्बाइ र दुई मिटर चौडाइको सिसाको पुलबाट वरपरको दृष्य नियाल्न सकिन्छ। पूर्वी नेपालमा ‘एड्भेन्चर टुरिजम’लाई भित्र्याउन स्काइवाक बनाइएको यसका प्रोजेक्ट मेनेजर अभिषेक लामिछाने बताउँछन्।
“शुरूमा कमलादीमा स्काइवाक बन्यो र पछि त्यहीअनुसार यहाँ बन्यो। एउटै कम्पनी भने होइन। अन्यभन्दा यहाँको फरक छ। यो निजी लगानीमा निर्माण भएको हो, तर प्रदेश र स्थानीय सरकारको सहयोगमा बनाइएको छ,” लामिछानेले भने।
प्रदेश लगानी प्राधिकरणको पीपीपी मोडेलको पहिलो परियोजनासमेत यो नै भएको लामिछानेले जानकारी दिए। स्काइवाकको सञ्चालन, अपरेसनमा प्रदेश सरकारले निगरानी गरिरहन्छ। कम्पनीले स्थानीय सरकारलाई ५ प्रतिशत मनोरञ्जन कर बुझाउँछ।
“स्काइवाक भएको जमिन सबै धनकुटामा पर्छ। तर यो स्काइवाकको क्यान्टिलिभरको भाग सुनसरीतिर पर्छ। त्यसैले हाम्रो डकुमेन्टेसन सबै धनकुटातिरै छ। कर भने दुवै पालिकालाई बुझाउछौँ,” उनले भने।
प्रदेश सरकारमार्फत शुरू गरेको परियोजना भएकाले हरेक वर्ष जम्मा आयको ५ प्रतिशत रोयल्टी कम्पनीले प्रदेशलाई दिने गरेको लामिछानेले बताए। यसबाहेक हरेक वर्ष यसले प्रदेश सरकारलाई नवीकरण शुल्क पनि बुझाउँछ।
स्काइवाक २०८१ साउनबाट सञ्चालन शुरू भएको हो। सञ्चालनमा आएको एक वर्षमा एक लाख ७८ हजार पर्यटकले स्काइवाकको अनुभव लिएका छन्। “करिब दैनिक ५०० भिजिटर आइरहेका छन्। ८ करोड रुपैयाँभन्दा बढी रेभिन्यु संकलन भएको छ। यस परियोजनाले मात्रै प्रत्यक्ष रूपमा करिब ३० जनालाई रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा भेडेटारको पर्यटनलाई बढाएको छ,” उनले भने।
स्काइवाकले भेडेटारको पर्यटनलाई बढाउन धेरै पक्षमा सहयोग गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए। उनका अनुसार, स्काइवाकले यहाँका स–साना पसलदेखि होटल व्यवसायलाई चलयमान बनाएको छ । “हाम्रो पालिकाको मुख्य आयस्रोत नै पर्यटन हो। कोभिडपछि सुस्ताएको पर्यटनमा स्काइवाकले सहयोग गरेको छ। भेडेटार आउने पर्यटकको संख्या बढेको छ। होटेलहरूको अकुपेन्सी पनि बढिरहेको छ,” उनी भन्छन्।
स्काइवाकको संरचना बनाइएको जग्गा २५ वर्षका लागि वन्डर्स अम्युजमेन्ट पार्क्स एन्ड अट्राक्सन प्रालिलाई सरकारले उपलब्ध गराएको हो। यसपछि कम्पनीले स्वतः सरकारलाई हस्तान्तरण गर्ने राईको भनाइ छ।
साँगुरीगढी गाउँपालिकाको केन्द्र पनि भेडेटार नै हो। यहाँ पहिले चाल्स टावर थियो। त्यही ठाउँमा अहिले स्काइवाक बनाइएको हो।
यसमा स्काइवाकसँगै दुईतीन वटा एड्भेन्चर क्रियाकलाप गराइन्छ। यहाँ फ्रि फल जम्प गर्न पाइन्छ। यो मिनी बन्जी जस्तै हो। २० मिटर अग्लो टावरबाट जम्प गराइन्छ। स्विङ पिङको पनि व्यवस्था छ। पर्यटकका लागि टिकटक जोन पनि बनाइएको छ।
यहाँ बिस्तारै एड्भेन्चरसँग सम्बन्धित क्रियाकलाप थप्ने योजना रहेको यस परियोजनाका संयोजक प्रमोद लुइँटेल बताउँछन्। “ह्यांगिङ ब्रिजलगायत थप एड्भेन्चर थप्ने योजनामा छौँ। जसले यहाँ आउने पर्यटकको संख्या अझै बढाउँछ,” उनले भने।
भेडेटार आउनेमध्ये करिब ४० प्रतिशत धरानकै हुन्छन्। यसबाहेक नजिकका जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर लगायतबाट पनि आउँछन्। २५ प्रतिशत जति पर्यटक भारतका विहार, सिक्किमलगायत ठाउँबाट आउने लुइँटेल बताउँछन्। विभिन्न विद्यालयले शैक्षिक भ्रमणका लागि विद्यार्थीलाई भेडेटार ल्याउँछन्।
पर्यटनले धानेको पालिका
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार पर्यटनकै माध्यमबाट पालिकाले धेरै राजश्व संकलन गर्छ। यस गाउँपालिकाकामा ठूला कारखाना छैनन्। “भेडेटार एकदमै रमणीय ठाउँ छ। यहाँ गर्मीयाममा पनि चिसो हुने भएकाले धरान, विराटनगर, इटहरीलगायतका शहरबाट एक दिन बिताउने गरी आउँछन्,” उनी भन्छन्।
त्यसबाहेक, यहाँ पाथीभरा मन्दिर छ। भेडेटारबाट करिब ९ किमिको दूरीमा नमस्ते झरना छ। त्यो झरना पनि पर्यटकको गन्तव्य बनिरहेको छ। धरानदेखि भेडेटारसम्म पदमार्ग पनि छ। यहाँ आउने पर्यटक साँगुरीगढी पनि घुम्न मन पराउँछन्। सूर्योदयको दृश्य हेर्न सकिने ध्वजेडाँडा पनि यही पालिकामा छ। भेडेटार तोङ्बा, सेकुवा र थुक्पा लागि पनि प्रसिद्ध मानिन्छ।
पालिकाले वर्षभरिमा करिब ३ करोड राजश्व संकलन गर्छ। “नमस्ते झरना, स्काइवाक, यहाँका होटल व्यवसायबाट उठ्ने कर गाउँपालिकाको ठूलो स्रोत हो। यो हाम्रो पर्यटकीय गाउँपालिका हो। त्यहीअनुसार पालिकालाई चिनाउन खोजेका छौँ। ऐतिहासिक गढी पनि यही पालिकामा छ,” राईले भने।
गाउँपालिकाले बहुसांस्कृतिक संग्राहलय पनि बनाइरहेको छ, जुन भेडेटारबाट उत्तरपूर्वी भागमा पर्छ। यो चाँडै सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए। पालिकाका सबै पर्यटकीय गन्तव्यहरूलाई प्रवर्धन गर्ने योजन रहेको उनको भनाइ छ। यहाँको जनसंख्या साढे १९ हजार हो।
घुम्नै पर्ने नाम्जे गाउँ
यही साँगुरीगढी गाउँपालिकामै पर्छ नाम्जे गाउँ। यो गाउँलाई अमेरिकी संचार संस्था सीएनएनले विश्वमा घुम्नै पर्ने आठौँ पर्यटकीय स्थानमा राखेको थियो। नाम्जे क्षेत्रका मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धविहार र यहाँको रहनसहनलाई आधार मानेर घुम्नैपर्ने पर्यटकीय स्थानमा सीएनएनले राखेको थियो। जसका कारण अहिले पनि यो गाउँ चर्चित छ।
सागुरीगढी गाउँपालिका—६ का वडाध्यक्ष यमप्रकाश मगर नाम्जेमा अर्गानिक खान्की र बस्ने ठाउँ देखेर पर्यटक आउने गरेको बताउँछन्। उनका अनुसार, यहाँ अर्गानिक बाली लगाइन्छ। पर्यटकले यहीँको उत्पादन खान पाउँछन्। त्यसैले यसलाई अर्गानिक गाउँ पनि भन्ने गरिएको उनी बताउँछन्।
मगरका अनुसार, मुख्यगरी शुक्रबार र शनिबार नजिकैका जिल्लाबाट मानिसहरू घुम्न आउँछन्। “लोकल भाले, सुँगुरको मासु, यहाँको अर्गानिक तरकारी खाएर रात बिताउँछन् र फर्कन्छन्,” उनी भन्छन्, “यहाँको नृत्यलगायत कलाहरूले पनि यस गाउँको महत्त्व बढाएको छ।”
अहिले नाम्जेका ४० घरमा होमस्टे छ। तर अहिले यसलाई बढाएर ५० पुर्याउने योजना रहेको वडाध्यक्ष मगरले बताए। “यहाँको गाउँलाई पुरानै स्वरूपमा राख्न हामीले काम गरिरहेका छौँ। होमस्टे सञ्चालकलाई तालिम दिने, अन्यत्रका कुरा देखाउन भ्रमणमा लैजाने, बाहिरका पर्यटकलाई स्वागत र सत्कारका विषयमा तालिम दिनेमा काम गरेका छौँ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
