गोपनीयता भंगको आरोपमा पक्राउ परेका रास्वपाका जिल्ला नेतामाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रहरीले रास्वपाका जिल्ला संगठन प्रमुख रिखीराम भट्टराईलाई सरकारी कागजात फेसबुकमा राखेर गोपनीयता भंग गरेको आरोपमा पक्राउ गरी अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ।

तौलिहवा– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्युतीय माध्यमबाट गैरकानुनी सामग्री प्रकाशन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कपिलवस्तु जिल्ला संषठन प्रमुख रिखीराम भट्टराई रहेका छन्।

बाणगङ्गा नगरपालिका–८, धनेशपुर बस्ने भट्टराईले जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा रहेको एउटा मुद्दाको सरकारी कागजात माघ २६ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। ती सरकारी कागजात सार्वजनिक गरी घृणा वा द्वेष फैलाएको र गोपनीयतासमेत भंग गरेको प्रहरीको दाबी छ।

उनलाई मंगलबार साँझ करिब ५ बजे कपिलवस्तु नगरपालिका–२ बाट पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। भट्टराईमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।