राजकुमार शर्मा नेकपाबाट निष्कासित

नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका सांसद राजकुमार शर्मालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्दै उनको सांसद पद रिक्त गर्न प्रदेशसभा सचिवालयमा पत्राचार गरेको छ।

सुर्खेत– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेश संसदीय दलका सदस्य एवं पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरीत कार्य गरेको भन्दै नेकपाले उनलाई जिम्मेवारीबाट मुक्त गर्दै पदमुक्तिको प्रक्रिया अगाडि बढाएको हो।

नेकपा कर्णाली प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई सम्बोधन गर्दै लेखेको पत्रअनुसार, शर्माले जानीजानी दलको विधान २०८४ र कर्णाली प्रदेश संसदीय दलको विधान २०८२ को प्रतिकूल हुने गरी कार्य गरेका थिए। पार्टीको केन्द्रीय समितिको माघ २६ गते बसेको बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “निजलाई यस दलको मिति २०८२।१०।२६ गते बसेको केन्द्रीय समितिको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समितिलगायत दलको सम्पूर्ण जिम्मेवारी र नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउँछु।”

पार्टीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) बमोजिम शर्मालाई निष्कासन गरिएको जानकारी गराएको छ। ऐनको व्यवस्थाअनुसार पार्टीको सदस्यबाट निष्कासित भएपछि उनी कर्णाली प्रदेशसभा सदस्यका रूपमा कायम रहन सक्ने छैनन्।

नेकपाले शर्माले दल त्याग गरेको सूचना राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा (१) बमोजिम दर्ता गरी आवश्यक कानुनी कारबाही अगाडि बढाउन प्रदेशसभा सचिवलाई अनुरोध गरेको छ।