देशभरका वडामा मतदाता शिक्षा स्वयंसेवक खटाइने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने भएको छ।

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने भएको छ।

निर्वाचन आयोगका अनुसार 'निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८' बमोजिम आयोगबाट मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ। आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत यस विशेष कार्यक्रम अनुसार फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुनेछन्।

त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको वस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने आयोगले जनाएको छ।

साथै, आयोगबाट आमसञ्चार माध्यमबाट विभिन्न किमिसका मतदाता शिक्षा सामग्री उत्पादन गरी प्रकाशन एवम् प्रसारण गर्ने तयारी गरिरहेको छ। विभिन्न सरोकारवालाहरूसँग छलफल एवम् अन्तक्रियाका माध्यमबाट पनि मतदाता शिक्षालाई प्रभावकारी बनाउने कार्य भइरहेको आयोगको भनाइ छ।

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ।