अडानी समूहमाथि अमेरिकी अनुसन्धान

इरानी तेलजन्य उत्पादन आयात गरी अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोपबारे छानबिन गरिरहेको अमेरिकी अधिकारीहरूलाई अडानी इन्टरप्राइजेजले आवश्यक विवरण उपलब्ध गराएको जनाएको छ।

भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोपबारे अमेरिकी प्रतिबन्ध उल्लंघनको अनुसन्धानमा आफूले सहयोग गरिरहेको खुलासा गरेको छ। इरानी उत्पादन आयात गरी अमेरिकी प्रतिबन्ध छलेको विषयमा सञ्चारमाध्यममा रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले मंगलबार यस्तो स्पष्टीकरण दिएको हो।

कम्पनीका अनुसार, अमेरिकी अधिकारीहरूले चासो देखाएपछि आवश्यक विवरण उपलब्ध गराउँदै सहकार्य भइरहेको छ। वाल स्ट्रिट जर्नलले गत जुनमा अमेरिकी अभियोजकले अडानी समूहअन्तर्गतका संस्थाले इरानी मूलका तेल उत्पादन आयात गरे/नगरेको विषयमा अनुसन्धान गरिरहेको रिपोर्ट प्रकाशित गरेको थियो।

उक्त रिपोर्टमा मुन्द्रा बन्दरगाहबाट आयात गरिएको तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी)को उत्पत्ति, ढुवानीमा प्रयोग गरिएका ट्यांकर र इन्धन ढुवानीका विभिन्न प्राविधिक विवरणबारे अमेरिकी अधिकारीले निगरानी गरिरहेको उल्लेख थियो।

अडानी इन्टरप्राइजेजले मंगलबार स्टक एक्सचेन्जमा बुझाएको विवरणअनुसार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गत प्रतिबन्ध कार्यान्वयन हेर्ने निकाय ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’ (ओएफएसी)बाट गत हप्ता ‘जानकारीका लागि अनुरोध’ प्राप्त भएको छ। कम्पनीले गत वर्षको मिडिया रिपोर्टपछि स्वेच्छिक रूपमा ओएफएसीसँग सम्पर्क गरेकाले सोही प्रक्रियाअन्तर्गत यो पत्र आएको स्पष्ट गरेको छ। अर्बपति व्यवसायी गौतम अडानीद्वारा सञ्चालित यो समूह बन्दरगाहदेखि ऊर्जा क्षेत्रसम्म फैलिएको विशाल व्यावसायिक घराना हो।

वाल स्ट्रिट जर्नलको रिपोर्ट जुन २ मा प्रकाशित भएकै दिन ‘पर्याप्त सावधानी र सहकार्यको प्रयासस्वरूप कम्पनीले सबै एलपीजी आयात बन्द गरेको’ फाइलिङमा उल्लेख छ। ओएफएसीले कम्पनीलाई अमेरिकी वित्तीय संस्थामार्फत गरिएका केही लेनदेनको नागरिक जाँच भइरहेको जानकारी गराएको छ। ती लेनदेन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा इरान वा इरानमाथि अमेरिकी प्रतिबन्ध लागेका व्यक्तिहरूको हितमा संलग्न भएको हुनसक्ने आशंका गरिएको छ।

अडानी इन्टरप्राइजेजले ओएफएसीले मागेको विस्तृत विवरण सार्वजनिक नगरे पनि निकायसँगको संवादमा ‘कुनै पनि विचलन वा गैर–अनुपालनको निष्कर्ष समावेश नभएको’ दाबी गरेको छ। कम्पनीले ओएफएसीसँग पूर्ण रूपमा सहयोग गरिरहेको र माग गरिएका सम्पूर्ण जानकारी उपलब्ध गराइने बताएको छ।

यसअघि अडानी समूहले इरानी मूलको एलपीजीसँग सम्बन्धित कुनै पनि प्रकारको प्रतिबन्ध छल्ने वा अवैध व्यापारमा जानाजानी संलग्न भएको कुरा अस्वीकार गर्दै आएको छ। मिडिया रिपोर्टमा उल्लेख गरिएको ढुवानी तेस्रो पक्षका लजिस्टिक साझेदारमार्फत नियमित व्यावसायिक लेनदेनका रूपमा गरिएको र त्यसको मूल बन्दरगाह ओमानको ‘सोहर’ देखाउने कागजात आफूसँग सुरक्षित रहेको कम्पनीले जनाएको छ।