भारतीय नम्बरका गाडी अस्थायी प्रवेशको कानूनमै व्यवस्था, निर्वाचन प्रयोगमा निषेध

विदेशी नम्बर प्लेटका गाडी अस्थायी रूपमा नेपाल भित्र्याउन ऐनले नै व्यवस्था गरिदिएको छ। तर उम्मेदवारले निर्वाचन प्रयोजनका लागि भारतीयसहित कुनै पनि विदेशी नम्बरका गाडी प्रयोग गर्न पाइँदैन।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा–४ बाट एमाले उम्मेदवार बनेका जालिम मियाँ मन्सुरीले प्रयोग गरेको गाडीको ‘नम्बर प्लेट’लाई अखबारले छोपिएको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो। प्रतिस्पर्धी दल र उम्मेदवारले ती भिडियो र तस्वीर भाइरल गराउनुको कारण थियो भारतीय नम्बर प्लेटको गाडी।

nullमन्सुरीले भारतीय नम्बर प्लेटलाई छोपेर प्रयोग गरेका थिए। मधेशमा उम्मेदवार बनेका कतिपयले प्रचारप्रसारमा भारतीय नम्बरका गाडी प्रयोग गरिरहेको भिडियो र तस्वीर सामाजिक सञ्जालमा लगातार आइरहेका छन्। कतिपय उम्मेदवारले त माघ ६ गते मनोनयन दर्ता गर्न जाँदासमेत भारतीय नम्बरका गाडी प्रयोग गरेका थिए।

नेपालमा भारतीय गाडीहरूले नियमानुसार महसुल तिरेर निश्चित समयका लागि प्रवेश पाउँछन्। त्यसरी आएका भारतीय नम्बरका गाडीलाई निर्वाचनमा प्रयोग गर्ने अनुमति भने छैन। विदेशी नम्बरको गाडी प्रयोग गर्न निर्वाचन आचारसंहिता, २०८२ ले रोक लगाएको छ।

आचारसंहिताको बुँदा १४ ले ‘सवारीसाधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण’ सम्बन्धी व्यवस्था गरेको छ। यसको उपबुँदा (क) मा भनिएको छ, “निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने, तर विदेशी नम्बर प्लेटको सवरी साधनलाई यस्तो अनुमति दिइने छैन।”

nullतर कतिपय स्थानमा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भइरहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई आयोगले अहिले निर्वाचन आचारसंहिताको कडाइका साथ अनुगमन गरिरहेको बताउँछन्। जिल्ला आचारसंहिता अनुगमन समिति सक्रिय भएकाले आयोगमा गाडीसम्बन्धी उजुरीहरू नआएको उनले जानकारी गराए। 

आचारसंहिता उलंघन नियन्त्रण गर्न आयोगले जिल्लाहरूमा नै संयन्त्र निर्माण गरी परिचालन गरेको र गाडी प्रयोगलगायतमा निगरानी राखेको भट्टराईको भनाइ छ। “हामीले जिल्लामा रहेका अनुगमन समितिलाई सक्रिय बनाएका छौँ, ह्वाट्स एप ग्रुप बनाएर दैनिक रिपोर्टिङ लिने र यताबाट सहजीकरण गर्ने पनि गरिरहेका छौँ,” उनले भने, “समग्र विषयमा सहायक प्रमुख जिल्ला अधिकारीहरू र आर्थिक विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुखज्यूहरूलाई जिम्मेवारी दिइएको छ। गाडीहरू पनि जिल्लाकै अनुगमन समितिले हेरिरहेका छन्।”

भन्सार विभागका निर्देशक किशोर बर्तौलाका अनुसार, विदेशी नम्बर प्लेटका गाडी अस्थायी रूपमा नेपाल भित्र्याउन ऐनले नै व्यवस्था गरिदिएको छ। भन्सार महसुल ऐन २०८१ को दफ ७ को उपदफा ५ मा यस्तो व्यवस्था छ। 

यसरी आउने गाडीले भन्सार नाकामा गाडीको ‘ब्लुबुक’ र चालकको सवारी चालक अनुमतिपत्रको फोटोकपी दिएर तोकिएको भन्सार महसुल तिर्नुपर्छ। एउटा गाडीले एक वर्षमा ३० दिनसम्मका लागि प्रवेश अनुमति लिन सक्छ। 

बर्तौलाका अनुसार, भारतीय गाडीको लागि नभएर यो विदेशी गाडीको  हकमा गरिएको कानूनी व्यवस्था हो। कहिलेकाहीँ चीनबाट विभिन्न परियोजनासँग जोडिएका गाडी पनि आउने गरेका छन्।

एकपटकमा बढीमा सात दिनसम्मको इजाजत दिने गरेको पाइएको बर्तौला बताउँछन्। उनी भन्छन्, “त्योभन्दा बढी बस्नु परेमा नजिकको भन्सार कार्यालयमा गएर फेरि थप अवधिका लागि प्रक्रिया गर्न सकिन्छ।” 

अस्थायी प्रवेशका लागि भन्सार महसुल ऐन २०८१ ले मोटरसाइकल वा स्कुटरका लागि दैनिक २००, तीनपांग्रे सवारीसाधनका लागि दैनिक ४०० र कार, जीप वा भ्यानका लागि दैनिक ६०० रुपैयाँ शुल्क तोकेको छ। बस, मिनिबस, माइक्रोबसलगायत पर्यटक गाडीका लागि दैनिक ६००, ट्रेलर फिट नभएको ट्रयाक्टरलाई दैनिक ५०० ट्रेलर फिट भएको ट्याक्टर वा ट्रेलर मात्रमा प्रतिदिन ८००, ट्रयाक्टर बाहेकका ट्रेलर, ट्रक वा अन्य वस्तु परिवहनका साधनमा एक पटकमा सात दिनसम्म प्रतिदिन १७ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, एलपी ग्याँस ढुवानी गरी ल्याउने बुलेट ट्रकलाई गन्तव्यस्थलमा अनलोड गर्न वस्तु जाँचपास भएको ९६ घण्टासम्मको लागि १५ सय रुपैयाँ र अन्य वस्तु ढुवानी गरी ल्याएको ट्रक, ट्रेलर, ट्याक्टरलगायत साधनहरूलाई सो वस्तु गन्तव्यस्थलमा अनलोड गरी फर्कन वस्तु जाँचपास भएको ७२ घण्टासम्मका लागि १५ सय रुपैयाँ नै तोकिएको छ। एलपी ग्याँस ढुवानी गर्ने र अरू ढुवानीका सवारीहरूको हकमा भने ३० दिने सीमामा ऐनले छुट दिएको छ।

nullपछिल्लो समय विभिन्न भन्सारबाट अस्थायी प्रवेशका लागि स्वीकृति लिइएको प्रज्ञापनसहितका भारतीय नम्बरका गाडीहरूलाई पृथ्वी राजमार्गमा रोकेर केही मानिसहरूले केरकार गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ। पृथ्वी राजमार्गका यातायात सेवा प्रदायकहरूले भारतीय गाडी प्रयोगको विरोध शुरू गरेको जनाएका छन्। 

‘पोखराको लेकसाइडमा भारतीय नम्बरको गाडी आयो’ र ‘डेभिस फल्समा भारतीय नम्बरको गाडीको संख्या धेरै भयो’ जस्ता गुनासो शैलीका ‘भ्वाइसओभर’ भएका अन्य भिडिओहरू पनि सामाजिक सञ्जालमा शेयर भइरहेका छन्।