राष्ट्रियसभा: मृतकको शव फिर्तादेखि महँगी नियन्त्रणसम्मका विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, बढ्दो महँगी नियन्त्रण र आगामी निर्वाचनलाई निष्पक्ष बनाउनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता, विकास बजेट रोक्का, महँगी नियन्त्रण र आगामी निर्वाचनको सुरक्षासहितका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भारतको मेघालयस्थित कोइलाखानी विस्फोटमा मृत्यु भएका नेपालीको शव स्वदेश फर्काउन र बेपत्ता श्रमिकहरूको खोजी कार्य तीव्र पार्न सरकारसँग आग्रह गरिन्।

सांसद जयन्ती देवी राईले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराइन्। त्यस्तै, सांसद दुर्गाकुमारी गुरुङले विकास निर्माणमा देखिएको अवरोधप्रति सङ्केत गर्दै विकास बजेट रोक्का नगर्न माग गरिन्।

आगामी निर्वाचनलाई लक्षित गर्दै सांसदहरू नरबहादुर विष्ट र सुरेशकुमार आलेमगरले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए। सांसद विष्टले झापामा हुनसक्ने सम्भावित द्वन्द्वप्रति सचेत रहन सरकारलाई आग्रह गरे भने सांसद युवराज शर्माले निष्पक्ष निर्वाचनका लागि संविधान पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।

सांसद भुवनबहादुर सुनारले ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरे। सुदूरपश्चिमका सडकहरूको असुरक्षाबारे बोल्दै सांसद मदनकुमारी शाह (गरिमा)ले यात्रु सुरक्षाका लागि तत्काल सडक सुधार आवश्यक रहेको बताइन्।

सांसद राजेन्द्र लक्ष्मी गैरेले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा रहेको बताउँदै यसलाई प्रभावकारी बनाउन सरकारले तुरुन्त कदम चाल्नुपर्ने माग गरिन्।