वीरगन्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण, तीन सशस्त्र प्रहरी घाइते

वीरगन्जको आदर्शनगरस्थित एक गोदामबाट तस्करीको सामान बरामद गरी फर्कने क्रममा आक्रोशित समूहले गरेको ढुंगामुढाबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै दुई वटा सुरक्षा वाहनमा क्षति पुगेको छ।

वीरगन्ज— पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक गोदाममा तस्करीको सामान बरामद गर्ने क्रममा आक्रोशित भिडको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुई वटा सवारीसाधनमा समेत क्षति पुगेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका एसपी मोहन केसीका अनुसार स्थानीय मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सोमबार छापा मारिएको थियो। सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त स्थानबाट करिब पाँच लाख रुपैयाँ बराबरको पाँच पोका कपडा बरामद गरेको छ।

बरामद सामान लैजाने क्रममा आक्रोशित समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेको थियो। सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणबाट सशस्त्र प्रहरीको एउटा वानटन (ट्रक) र एउटा स्कार्पियो गाडीको सिसा फुटेको छ। झडपमा परी तीन जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्।

घाइते सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने आक्रमणमा संलग्नहरूको खोजी भइरहेको छ।