उत्तर कोरियाको पार्टी सम्मेलनमा किमले नयाँ नीति सार्वजनिक गर्ने अपेक्षा

यसै महिनाको अन्त्यमा हुने वर्कर्स पार्टीको सम्मेलनमा नेता किमले उत्तर कोरियाको आगामी पाँच वर्षे आन्तरिक तथा वैदेशिक नीतिको प्रमुख लक्ष्यहरू घोषणा गर्ने अपेक्षा गरिएको छ।

उत्तर कोरियाले यसै महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको छ। राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा वैदेशिक नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार नेता किमको उपस्थितिमा बसेको पार्टीको राजनीतिक ब्युरो बैठकले फेब्रुअरीको अन्त्यमा सम्मेलन गर्ने निर्णय गरेको हो। यद्यपि, सम्मेलनको निश्चित मिति र विस्तृत अजेन्डाबारे तत्काल केही खुलाइएको छैन।

किमले यसअघि सन् २०१६ र सन् २०२१ मा पनि यस्तै कंग्रेस (महासम्मेलन) आयोजना गरेका थिए। पछिल्ला वर्षहरूमा उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरेको छ। युक्रेन युद्धपछि रुससँगको सम्बन्ध प्रगाढ बन्दै जाँदा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको तनावसमेत चुलिएको छ।

विश्लेषकहरूका अनुसार यो सम्मेलन किमको अधिनायकवादी नेतृत्वको शक्ति प्रदर्शन गर्ने एक नियोजित अवसर हुनेछ, जुन केही दिनसम्म चल्न सक्छ। हालै किमले हतियार परीक्षणको निरीक्षण गर्नुका साथै सैन्य र आर्थिक परियोजनाहरूको भ्रमण गरेका छन्, जसलाई राज्य मिडियाले सैन्य क्षमता सुदृढीकरण र विकासमा उनको सफल नेतृत्वका रूपमा प्रस्तुत गरेका छन्।

किमले सम्मेलनमार्फत आत्मनिर्भरता र जनपरिचालनमा आधारित आर्थिक विकासलाई तीव्र बनाउने योजना तथा आणविक क्षमतायुक्त सेनालाई थप विस्तार गर्ने नीति घोषणा गर्ने अनुमान गरिएको छ। यसमा परम्परागत हतियार प्रणालीको आधुनिकीकरण र तिनलाई आणविक क्षमतासँग एकीकृत गर्ने कार्यक्रम समावेश हुन सक्छन्।

विज्ञहरूका अनुसार किमले मस्को र बेइजिङसँगको निकट सम्बन्धमा आधारित कडा विदेश नीतिमा जोड दिनेछन्। उनले ‘नयाँ शीतयुद्ध’ को धारणा अघि सार्दै दक्षिण कोरियाप्रति थप कडा दृष्टिकोण लिन सक्ने सम्भावना छ।

संयुक्त राज्य अमेरिकासँग कूटनीतिक संवाद पुनः शुरू गर्ने किमको इच्छाबारे भने अझै स्पष्टता छैन। सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर वार्तापछि प्रतिबन्धका विषयमा कुरा नमिल्दा सम्बन्ध चिसिएको थियो। ट्रम्पले दोस्रो कार्यकाल शुरू गरेपछि प्रस्ताव गरेको संवादलाई समेत किमले अस्वीकार गर्दै वासिङ्टनले उत्तर कोरियाको आणविक निःशस्त्रीकरण माग त्याग्नुपर्ने अडान दोहोर्‍याउँदै आएका छन्।

आफ्नो शासनकालको १५औँ वर्षमा प्रवेश गरेका किम सन् २०२१ को कंग्रेसको तुलनामा अहिले राजनीतिक रूपमा बलियो अवस्थामा देखिन्छन्। दक्षिण कोरियाली विश्लेषकहरूका अनुसार चीनसँगको व्यापारमा भएको सुधार र रुसलाई हतियार आपूर्तिबाट प्राप्त आम्दानीका कारण उत्तर कोरियाको अर्थतन्त्रमा केही सुधार आएको संकेत देखिएको छ।