प्रतिनिधिसभा निर्वाचन: केन्द्रबाट नौ र जिल्लाबाट ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका मुख्य सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका सहायक सामग्री जिल्ला तहमै व्यवस्थापन गर्ने गरी तयारी थालेको छ।

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका सामग्री केन्द्रबाटै पठाउने भएको छ। आयोगले ती सामग्री केन्द्रबाट पठाउने र अन्य ३७ प्रकारका निर्वाचन सामग्री जिल्ला तहबाटै व्यवस्थापन गर्ने गरी तयारी थालेको सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।

आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने सामग्रीहरूमा तालिम र मतदान केन्द्रका लागि सुरक्षित छेकाबारा, अमेट मसीको मार्कर, स्ट्याम्प प्याड र त्यसको मसी, दुई प्रकारका स्वस्तिक छाप तथा मतपेटिकाका लागि स्टिकर रहेका छन्।

त्यस्तै, जिल्लामै व्यवस्थापन गरिने ३७ प्रकारका सामग्रीमा सिलिङ बक्स, अनुसूची फारम, पुसपिन, डायरी (पोल बुक), मार्कर पेन, स्केल, स्टाप्लर मेसिन तथा पिन, कैँची, ग्लुस्टिक र सोसर (काउन्टिङ डम्पर) रहेका छन्। अन्य सामग्रीहरूमा पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, भित्री र बाहिरी कार्ड, महिला र पुरुष कार्ड, मतदाता क्रमसंख्या, मतदान केन्द्र कार्ड, प्लास्टिक झोला, बोरा, सुतली र प्याकिङ टेप समावेश छन्।

यसैगरी, १० बाइ १५ इन्चको नेपाली कागजको खाम, निविदा मतपत्र राख्ने कपडाको खाम, ए४ साइजको सेतो कागज, फित्तासहितको रेकर्ड फाइल, धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाई र दुई मिटरको कोरा कपडा पनि जिल्लामै व्यवस्थापन गरिनेछ। कालो र रातो जेल पेन तथा चार वटा मैनबत्ती भएको प्याकेटलाई समेत जिल्लाबाटै व्यवस्थापन गरिने सामग्रीको सूचीमा राखिएको आयोगले जनाएको छ।