टी२० विश्वकप: नेपाल इंग्ल्यान्डसँग भिड्दै

नेपाल र इंग्ल्यान्ड पहिलो पटक भिड्न लागेका हुन्। टी२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इंग्ल्यान्ड तेस्रो स्थानमा छ।

काठमाडौँ– आईसीसी पुरुष टी२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

भारतको मुम्बईस्थित वानखेडे रंगशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे शुरू हुनेछ। विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो। दुवैमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

नेपाल र इंग्ल्यान्ड पहिलो पटक भिड्न लागेका हुन्। टी२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इंग्ल्यान्ड तेस्रो स्थानमा छ। त्यस्तै इंग्ल्यान्डले पछिल्लो पटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो। 

सन् २०१४ मा पहिलोपटक पारस खड्काको नेतृत्वमा नेपालले विश्वकपमा स्थान बनाएको थियो। त्यसको एक दशकपछि २०२४ मा विश्वकप खेलेको नेपालले रोहित पौडेलको कप्तानीमा विश्वकप खेल्न लागेको हो। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको विश्वकपमा नेपाल समूह ‘सी’मा छ। 

यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्टइन्डिज, स्कटल्यान्ड र इटाली छन्। अन्तिम समयमा आईसीसीसँग मैदानका विषयमा कुरा नमिल्दा समूह ‘सी’मा रहेको बंगलादेशले विश्वकप नखेल्ने निर्णय गरेको थियो। आईसीसीले बांग्लादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ।