प्राधिकरणले कर्मचारीलाई भन्यो– सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादाको ख्याल गर्नू

अनावश्यक पोस्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारबाहीसमेत हुने जनाइएको छ।

प्राधिकरणले कर्मचारीलाई भन्यो– सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादाको ख्याल गर्नू
फाइल तस्वीर

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ।

प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, सर्त, नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाको पालना सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको हो।

पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका काल्पनिक, समाज र कार्यालयको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक प्रभाव बढाउने खालका पोस्ट र प्रतिक्रिया एवं कार्यालयका पत्रसमेत राख्ने प्रवृत्ति बढेकामा प्राधिकरणले आपत्ति जनाएको छ।

प्राधिकरणका कार्यरत कर्मचारीमा त्यस प्रकारको प्रवृत्ति निरुत्साहित गरी सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, व्यवस्थित र रचनात्मक बनाउन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेका प्राधिकरणका सहनिर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए। 

प्राधिकरण कर्मचारी सेवा, सर्त नियमावली २०७५ मा व्यवस्था भएबमोजिम आचरणको उल्लघंन हुने गरी सामाजिक सञ्जालमा कार्यालयको पत्र तथा अन्य अनावश्यक पोस्ट नराख्न सूचित गरिएको छ।

अनावश्यक पोस्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारबाहीसमेत हुने सूचनामा स्पष्ट पारिएको छ।