अमेरिका–भारतबीच अन्तरिम व्यापार सम्झौताको घोषणा

अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता भएको छ। अब भारतले अमेरिकी खेतीपाती र कलकारखानाका सामानमा कर छुट दिनेछ भने अमेरिकाले भारतीय औषधि र कपडामा सहुलियत दिनेछ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरीमा शुरू भएको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बीटीए) वार्तालाई गति दिन 'अन्तरिम व्यापार सम्झौता'को घोषणा गरेका छन्।

अमेरिका र भारतबीचको यो अन्तरिम सम्झौताले द्विपक्षीय व्यापारमा ऐतिहासिक कोसेढुंगाको प्रतिनिधित्व गर्ने र यसले आपसी हित तथा सन्तुलित व्यापारप्रतिको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको छ।

सम्झौताको एक हिस्साका रूपमा, भारतले सबै अमेरिकी औद्योगिक सामानहरू र विभिन्न अमेरिकी खाद्य तथा कृषि उत्पादनहरूमा भन्सार शुल्क हटाउने वा घटाउनेछ। जसमा सुकेको अन्न, बदाम, ताजा तथा प्रशोधित फलफूल, सोयाबिन तेल र वाइनलगायत समावेश छन्।

संयुक्त वक्तव्यअनुसार, संयुक्त राज्य अमेरिकाले कपडा, छालाका जुत्ता, प्लास्टिक, रबर, जैविक रसायन, घर सजावटका सामान र केही मेसिनरी क्षेत्रहरूलाई समेट्ने गरी भारतीय मूलका सामानहरूमा १८ प्रतिशतको पारस्परिक शुल्क लागू गर्नेछ। “अन्तरिम सम्झौताको सफल निष्कर्षसँगै अमेरिकाले जेनेरिक फर्मास्युटिकल्स, रत्न तथा हीरा, र विमानका पाटपुर्जाहरूलगायतका सामानहरूमा लगाइँदै आएको पारस्परिक शुल्क हटाउनेछ,” वक्तव्यमा उल्लेख छ।

सम्झौताले एल्युमिनियम, स्टिल र तामामा राष्ट्रिय सुरक्षासम्बन्धी घोषणाअन्तर्गत लगाइएका केही शुल्कहरू हटाउने व्यवस्था पनि गरेको छ। भारतले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकताअनुरूप अटोमोटिभ पाटपुर्जाहरूका लागि प्राथमिकताका आधारमा शुल्क दर प्राप्त गर्नेछ। अमेरिकी अनुसन्धानको नतिजाका आधारमा भारत जेनेरिक औषधि र औषधिजन्य सामग्रीका लागि वार्ताका निष्कर्षहरू प्राप्त गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ।

दुवै देश एक–अर्कालाई दिगो र आपसी हितका क्षेत्रहरूमा बजार पहुँच प्रदान गर्न तथा सम्झौताको लाभ सुनिश्चित गर्न 'उत्पत्ति नियम' स्थापना गर्न प्रतिबद्ध रहेका छन्।

साथै, दुवै पक्षले द्विपक्षीय व्यापारलाई असर गर्ने गैर–भन्सार अवरोधहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। भारतले अमेरिकी चिकित्सा उपकरण, सूचना तथा सञ्चार प्रविधि (आईसीटी)का सामान, र कृषि उत्पादनका क्षेत्रमा रहेका पुराना अवरोधहरू हटाउन आगामी छ महिनाभित्र अन्तर्राष्ट्रिय मापदण्डहरूको समीक्षा गर्ने सहमति जनाएको छ।

अन्तरिम सम्झौताबाहेक, दुवै देशले बिटीए वार्तामार्फत बजार पहुँच थप विस्तार गर्ने बताएका छन्। वार्ताका क्रममा अमेरिकाले भारतीय सामानमा कर घटाउने प्रयास जारी राख्ने भारतको अनुरोधलाई विचार गर्ने आश्वासन दिएको छ।

यो सम्झौताले आपूर्ति शृङ्खलाको लचिलोपन, लगानी समीक्षा, निर्यात नियन्त्रण र तेस्रो पक्षका गैर–बजार नीतिहरूको सम्बोधनमा सहयोग पुर्‍याई आर्थिक सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार भारतले आगामी पाँच वर्षमा ५०० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी ऊर्जा उत्पादन, विमान र विमानका पुर्जा, बहुमूल्य धातु तथा कोइला खरिद गर्ने इच्छा व्यक्त गरेको छ। डाटा सेन्टरमा प्रयोग हुने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) सहित प्रविधि उत्पादनको व्यापार वृद्धि गर्न र प्रविधि सहयोग विस्तार गर्न दुवै पक्ष सहमत भएका छन्।

अमेरिका र भारत डिजिटल व्यापारका अवरोधहरू सम्बोधन गर्न र बीटीएअन्तर्गत बलियो एवं पारस्परिक रूपमा फाइदाजनक डिजिटल व्यापार नियमहरूका लागि मार्ग प्रशस्त गर्न प्रतिबद्ध छन्।

दुवै पक्षको सहमतिअनुरूप एक व्यापक र पारस्परिक हितकारी द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने दृष्टिकोणका साथ अन्तरिम सम्झौतालाई अन्तिम रूप दिन यथाशीघ्र काम गर्ने र यसलाई तत्काल कार्यान्वयनमा लैजाने बताइएको छ।