निर्वाचनको ४८ घण्टाअगावै सीमा नाका बन्द गरिने

सशस्त्र प्रहरी बल र भारतीय एसएसबीबीचको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ४८ घण्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

विराटनगर— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गरी नेपाल–भारत सीमा नाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा मंगलबार सम्पन्न सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीचको १६औँ डीआईजी स्तरीय समन्वय बैठकले यस्तो निर्णय गरेको हो।

एपीएफका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार, बैठकमा सीमा सुरक्षा, सूचना आदानप्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा छलफल भएको थियो। यस्तै, सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच सहमति भएको छ।

सीमा क्षेत्रका सम्भावित जोखिमयुक्त नाकाहरू पहिचान गरी खतराको मूल्यांकन गर्ने, शरणार्थी तथा आप्रवासीहरूको गतिविधिमाथि निगरानी राख्ने र विभिन्न तहमा ‘चेकपोइन्ट’ तथा ब्यारियर खडा गर्ने निर्णय बैठकले गरेको छ। आपराधिक तत्त्वहरूबाट हुन सक्ने घुसपैठ रोक्न र सीमा क्षेत्रमा मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण बन्देज लगाउने विषयमा समेत दुवै देशका अधिकारीहरू सहमत भएका छन्।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा मात्र नभई मित्रताको प्रतीक भएको उल्लेख गरे। यस्तै, भारतीय एसएसबीका डीआईजी सरोज कुमार ठाकुरले नेपाल–भारत सीमा सुरक्षालाई आगामी दिनमा अझ प्रभावकारी र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।