प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिँदै ३२ जिल्लाको प्याकिङ कार्यसमेत सकिएको जनाएको छ।

काठमाडौँ– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीअन्तर्गत हालसम्म ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेछ।

छपाइ भएका मतपत्रमध्ये सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बू, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी ३२ जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गत पुस २२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू भएको थियो। त्यसअघि १० लाख ९८ हजारभन्दा बढी नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आवश्यक दुई करोड आठ लाख ३० हजार मतपत्र माघ १३ गते नै छपाइ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

निर्वाचनको पूर्वतयारीअन्तर्गत आयोगले डिजिटल प्लेटफर्म ‘टिकटक’सँग सहकार्यका लागि सम्झौता गरेको छ। मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी भइरहेको छ।

आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिसकेको छ भने केन्द्रीय आचारसंहिता अनुगमन समितिलाई थप सक्रिय बनाएको छ।