वीरगन्जमा पार्किङको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु

वीरगन्जमा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको कुटपिटमा परी एक जनाको मृत्यु भएको छ भने संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा– वीरगन्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको विवादमा कुटपिट हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय केपी चन्द राउत बरई रहेका छन्।

पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, पार्किङको विषयलाई लिएर भएको झगडामा गम्भीर घाइते भएका बरईको वीरगन्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बस्ने ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएको छ। यादवमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए।