बैतडीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, ४५ जना घाइते

बैतडीको पुर्चौँडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

बैतडी– बैतडीको पुर्चौँडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।  

पुर्चौँडी नगरपालिका-७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप्रप्र ०२-००१ ख १११९ नम्बरको बस बिहीबार बेलुकी ८ बजेतिर बडगाउँ मोडमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार मृत्यु हुनेमा एक महिला र सात पुरुष रहेका छन्। "आठै जनाको घटनास्थलमै मृत्यु भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ," बडूले भने।

दुर्घटनामा घाइते भएका ४५ जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको छ। उकालो सडकमा क्षमताभन्दा बढी भार भएका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।