आचारसंहिताको पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबाट हुने अमर्यादित भाषाको प्रयोग र मतदाताको गोपनीयता हनन हुने गरी भइरहेका डिजिटल गतिविधि रोक्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ।

 

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा मानवअधिकारको अवस्थाबारे आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै यस्तो आग्रह गरिएको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, निर्वाचन पर्यवेक्षण गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अनुगमन र पर्यवेक्षणको प्रभावकारिताका सम्बन्धमा बिहीबार भएको छलफलमा सहभागीहरूले निर्वाचनलाई मानवअधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।

आयोगको अनुगमनका क्रममा राजनीतिक दलका केही नेता तथा उम्मेदवारहरूले एक–अर्को दल र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको पाइएको छ। त्यसैगरी, अरूको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई 'कुन दल वा नेतालाई भोट दिने?' भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो वा अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखेर मतदाताको गोपनीयताको हक र गोप्य मतदानको अधिकार उल्लङ्घन गरेको पाइएको आयोगले जनाएको छ।

मानवअधिकार अनुगमनका क्रममा निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरूबाट उल्लङ्घन भएको, निर्वाचनपूर्व नै 'अमुक उम्मेदवारले जित्छ' भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जस्ता प्रश्नहरू उठेका छन्।

यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग गरेका छुट्टाछुट्टै छलफलमा पनि केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको र आचारसंहिता पालनामा कमजोरी देखिएको जस्ता विषयहरू उठेको अनुगमनबाट पाइएको छ।