रौतहटमा कारको ठक्करबाट बालिकाको मृत्यु

बालिकालाई ठक्कर दिने गाडी रौतहट–२ बाट रास्वपाका उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

रौतहट– रौतहटको ईशनाथ नगरपालिकामा बिहीबार दिउँसो कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। ईशनाथ नगरपालिका–४, मठिया टोलस्थित मस्जिद नजिकै सडकमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो।

स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उद्धार गरी उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्‍याएका थिए। तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले उनलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्‍याएको थियो। उपचारकै क्रममा दिउँसो २:४५ बजे बालिकाको मृत्यु भएको हो।

दुर्घटनामा संलग्न उक्त गाडी रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फरार रहेका चालकको खोजी भइरहेको छ। प्रहरीले घटनाको सम्बन्धमा थप प्राविधिक अनुसन्धान भइरहेको जनाएको छ। मृतक बालिकाको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। -दिपेश पौडेल/नेपाल न्यूज बैंक